नेवि संघको कार्यसमिति भंग, मनोनयन बदर

काठमाण्डौं, माघ २९ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघमा भएका मनोनयनलाई बदर गर्दै कार्यसमितिलाई भंग गरेको छ । मंगलबारको बैठकले कार्यसमितिको मिति थप नगर्ने निर्णय गर्दै अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।

सोमबार मात्रै नेवि संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका थिए । नेवि संघको महाधिवेश समयमै हुन नसकेपछि कार्यसमितिको म्याद पटक पटक थप्दै आइएको थियो । महरले अघिल्लो मिति राखेर केही मनोनयन गरेका थिए ।

बैठकले नेवि संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद समेत दिएको छ ।