नेविसंघ मुस्ताङमा शेरचन, सर्वसम्मत कार्यसमिति चयन

मुस्ताङ, पुस १८ ।
नेपाल विद्यार्थी संघ मुस्ताङको सभापतिमा असिम शेरचन चयन भएका छन् । बुधबार भएको १२ औं अधिवेशनले शेरचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार, सहसचिव ध्रुव परियार र कोषाध्यक्षमा बरुण लामा चयन भए ।

सदस्यहरुमा मनिषा हिराचन, विकास विक, पासाङ शेर्पा, सुदीप विक, पूनित परियार, सञ्जय पुर्जा, विकल्प गौचन, अमन पौडेल, निसान तुलाचन, उर्मिला नेपाली, मन्जु नेपाली र सज्जल छन्त्याल छन् ।

नवगठित कार्यसमितिका सभापति शेरचनले सगंठनलाई बलियो बनाई अघि बढ्ने प्रतिबद्धता जनाए । उनले शैक्षिक गुणस्तरियता कायम गराउन नेविसंघको भूमिका महत्वपूर्ण हुने बताए । अधिवेशनलाई सम्बोधन गर्दै नेविसंघका केन्द्रिय कोषाध्यक्ष शिव रिमालले नेविसंघको इतिहास नेपाली राजनीतिमा सँधै प्रशंसनीय भएकोले सोही अनुसार अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा नेपाल शिक्षक संघका संघीय प्रतिनिधि प्रमिश गौचनले विद्यार्थीहरुलाई सकारात्मक र रचानात्मक कार्य गर्न सुझाव दिए । उनले विभिन्न राजनीतिक परिघटनामा नेपाल विद्यार्थी संघले निभाएको भूमिका सम्झदै सधैं सत्यको पक्षमा हिड्ने संठगन रहेको समेत बताए ।

वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस जिल्ला सचिव फेन्चोक छेप्टेन गुरुङले विभिन्न कठिनाईका बावजुत मुस्ताङमा नेपाल विद्यार्थी संघ यो अवस्थामासम्म आईपुगको बताए । विद्यार्थीको हकहीत तथा शैक्षिक गुणस्तरको लागि आ–आफ्नो स्थानमा एकताबद्ध भएर अगाडी बढ्न उनले सुझाव दिए । नयाँ कार्यसमितिलाई मजबुत भएर अगाडी बढ्न आग्रह गरे ।

नेविसंघमा पहिलो पटक औपचारिक कार्यक्रम गरेर कार्यसमिति चयन गरिएको यूवा नेता अविनास गौचन थकालीले बताए । उनले नयाँ कार्यसमितिलाई थप जोश–जाँगरका साथ जिम्मेवारी वहन गर्न आग्रह गरे । सोही अवसरमा संघको कोष बृद्धिको लागि वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङले १० हजार, महाधिवेशन प्रतिनिधि विजय हिराचनले ८ हजार र घरपझोङ गाउँपालिकाका तरुणदल अध्यक्ष योगेश शेरचनले ५ हजार नगद सहयोग गरेका छन् भने सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।