नेकपा स्थायी समितिमा मन्त्रीपरिषद् हेरफेर गर्न माग

काठमाण्डौं, पुस ४ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ । बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए ।

’सरकारको गतिशीलता देखिएन । मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ’, उनले भने, ’यो सरकारले जुन तरिकाले जनतालाई सर्भ गर्नसक्नुपथ्र्यो, त्यो सकेन । सक्षमहरुलाई राखेर अक्षमहरुलाई हटाउनुर्पयो । मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नुर्पयो ।’

पन्तले विधान स्थायी समितिले भनेको भन्दा विपरित आएको भन्दै आपत्ति जनाए । ’राजनीतिक र सांगठनिक निर्णय अधिकार लियो, त्यो उसले लिन मिल्दैन । स्थायी कमिटीमा फिर्ता हुनुहुँदैन’, उनले भने ।

चीनसँग भएका सन्धीहरुलाई अविलम्ब कार्यान्वयन गर्न उनले माग गरे । उनले सातै प्रदेशलाई छुने गरेर उत्तर दक्षिण राजमार्ग बनाउन प्रस्ताव समेत गरे । एसिया फ्यासिफिक समिटमा नेताहरुको सहभागिताको विषयमा पनि उनले कुरा उठाएका थिए । ’नेताहरुले आत्मालोचना गर्नुपर्छ’, उनले भने ।

अर्का नेता भीम आचार्यले पार्टीमा लोकतान्त्रिकरण जरुरी रहेको बताए । उनले पनि एसिया प्यासिफिक समिटमा सहभागिता गलत भएको र आत्मालोचना हुनुपर्ने बताएका थिए । केही दिनयता नेकपाको स्थायी समिति बैठक जारी छ । आजको बैठकमा आठ नेताले बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।