नेकपा स्कुल विभागको नेतृत्व हस्तान्तरण

काठमाडौं, भदौ ७ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्व हस्तान्तरण गरिएको छ ।

यसअघि, नेकपा एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहेका थिए ।

तत्कालीन प्रमुख प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेकाले तत्कालीन उपप्रमुख शंकर पोखरेलले विभागको नेतृत्व सचिवालय सदस्य एवं कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेललाई शनिबार हस्तान्तरण गरेका हुन् ।

पार्टी एकीकरणपछि हालै स्कुल विभागको नेतृत्व पोखरेलले पाएका हुन् । उपप्रमुखमा देवेन्द्र पौडेल रहेका छन् ।

पोखरेल ‘जबज’को वकालतकर्ता भएको भन्दै तत्कालीन माओवादी केन्द्र पक्षले स्कुल विभागमा पोखरेलको नाम अस्वीकार गर्दा नेकपामा विभाग टुंगो लगाउन नै लामो समय लागेको थियो । (ईमेजखबरबाट साभार)