नेकपा कास्कीमा राजकाजी, पोखरा महानगरमा जिसी (सहइन्चार्ज को को ?)
पोखरा, साउन ५ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जहरुको टुंगो लगाएको हो ।
४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।
साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाईनै इन्चार्ज र सह–इन्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ । पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ ।
विभागहरुको सन्दर्भमा भने छलफल अझै आवश्यक परेको नेताहरुले बताएका छन् । नयाँ जिम्मेवारी अनुसार कास्कीमा साविक माओवादीले इन्चार्ज पाएको छ भने साविक एमालेले सह–इन्चार्ज पाएको छ । इन्चार्जमा राजकाजी गुरुङ करण चयन भएका छन् भने सह इन्चार्जमा ४ जना छन् ।
श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी सह–इन्चार्जमा चयन भए । करण तत्कालीन प्रदेशसभा चुनावमा कास्की २ (ख) मा पराजीत भएका हुन् । यसैबीच, पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसी नै इन्चार्ज बनेका छन् ।