नेकपाले टुंग्यायो ७७ वटै जिल्लाको नेतृत्व, सोमबार सार्वजनिक गर्ने

काठमाण्डौं, बैशाख ८ ।
११ महिनादेखि जारी नेकपा एकताको गतिरोध किनारा लागेको छ । राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमतिपछि नेकपाको गतिरोध किनारा लागेको हो । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ वटै जिल्ला अध्यक्ष तथा सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टुंगो लागेका नामहरु सोमबार काठमाडौंमा हुने विशेष कार्यक्रममा सार्वजनिक गर्ने तयारी गरिएको छ । गण्डकी र पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश इन्चार्जसमेतको भारी बोकाइएपछि नेता माधवकुमार नेपाल रुष्ट बनेका थिए । र, उनले एक व्यक्ति एकपद र जिम्मेवारी बाँडफाँटको मापदण्ड वरीयता हुनुपर्ने अडान राख्दै आएका थिए । तर, ओली पक्ष आफ्नो अडानमा टसको मस नभएपछि र एकता प्रक्रिया नै अवरुद्ध बनेपछि नेपाल पौडेलको तर्कमा सहमत हुन पुगेको बताइएको छ ।

स्रोतले जनाएअनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भएको छ । एमालेले पाउन जिल्लामा साविककै अध्यक्षलाई जिम्मेवारी दिने र माओवादी केन्द्रले पाएका ठाउँमा पनि त्यसैगरी एकता टुंग्याउने सहमति नेताहरूको बीचमा भएको छ । केन्द्रीय सदस्यमा रहेकाहरुको भने कार्यविभाजन भएको छैन ।