नेकपाको कमिटी–पूरानालाई बाईपास, नवप्रवेशीलाई सिफारिस
पोखरा, भदौ ६ ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी एकीकरणको चरणमा छ । केन्द्रिय कमिटि मिलेपछि अहिले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकीकरणको काम चलिरहेको छ ।
नेकपा कास्कीले पनि जिल्ला र पोखरा महानगर सहित प्रदेशका लागि सदस्य सिफारिस पठाएको छ । प्रदेशबाट स्विकृत गरी केन्द्रमा नामहरु सिफारिस भएका छन् ।
तर केही पूराना नेताहरुले चाहीँ नव प्रवेशीलाई पार्टीमा स्थान दिईएको भन्दै गुनासो गरेका छन् । विशेषगरी साविक एमालेतर्फबाट चुनावको बेला प्रबेश गरेका ब्यक्तिहरुको नाम सिफारिस भएको छ । प्रदेश कमिटीका लागि अखण्ड नेपाल, साविक माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा लगायत पार्टीबाट प्रबेश गरेका १२ जनाको नाम सिफारिस भएको बुझिएको छ ।
कास्की जिल्लाबाट मात्रै प्रदेशलाई एमालेले २२ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये १० जनामात्रै एमालेका पूराना नेता कार्यकर्ता रहेको श्रोतको भनाई छ । यस्तै जिल्ला र पोखरा महानगरमा पनि पूराना भन्दा नयाँलाई अघि सारिएको श्रोत बताउँछ ।
नेकपाले केन्द्रिय कार्यादेश विपरित पोखरा महानगरको सदस्य सिफारिस गरेको छ । ‘स्थानीय तहको सदस्य सिफारिस गर्ने कार्यादेश थिएन । तर आफुखुशी नाम पठाईएको छ, श्रोत भन्छ–कुनै मापदण्ड नै नतोकिकन गरिएको सिफारिसले पछि विवाद आउन सक्छ ।’ १ सय २५ सदस्यीय पोखरा महानगर कमिटिका लागि एमालेका ७१ र माओवादी केन्द्रका ५४ जनाको नाम सिफारिस भएको छ ।
यस्तै, १ सय ५५ सदस्यीय जिल्ला कमिटीका लागि एमालेबाट ८८ र माओवादी केन्द्रबाट ६७ जनाको नाम पठाईएको छ । कास्कीमा एमाले माओवादीले ५७÷४३ को अनुपातमा सदस्य टुंग्याएका थिए ।
‘सबैसँग सल्लाह समेत नगरी संगठनमा निकै जुनियरलाई सिफारिस गरिएको छ । आफुँखुशी मान्छे राखेका छन्, श्रोत भन्छ–नयाँमा केही राम्रा भएपनि केही चाहीँ लेवल नमिल्ने मान्छेहरु परेका छन् । यसले पार्टीभित्रै असन्तुष्टी बढेको छ ।’