नयाँ मर्यादाक्रम सार्वजनिक, कसको मर्यादा कहाँ ? (सुची हेर्नुस्)

काठमाण्डौं, पुस २६ ।
सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौं मर्यादा रहनेछ ।

नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, वि  पक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका छन् ।

प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन् । अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दशौं नम्बरमा छन् ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।

मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।