नगरपरिषदमा गएर मुख्यमन्त्रीले भने–जनप्रतिनिधिले ठेकेदारी नगर्नुस्

पोखरा, असार ९ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिलाई ठेकेदारी छोड्न आग्रह गरेका छन् । आईतबार पोखरा महानगरको नगरपरिषद्लाई सम्बोधन गर्दै उनले आफ्ने पेसा बढाउनका लागि राजनीति गर्न नहुने बताएका हुन् ।

‘हिजो ठेक्का पट्टा गरेको भएपनि, वकालत गरेको भएपनि, शिक्षक भएपनि, कर्मचारी भएपनि, आज राजनीतिमा आएपछि अरु छोड्नुस्,’ उनले भने, ‘राजनीतिको माध्यमबाट आफ्नो हिजोको पेसालाई बढोत्तरी गर्ने कुरा भयो भने त्यहीँनेर मुलुक विग्रिन्छ । दुईवटा डुंगामा खुट्टा नहाल्नुस् । शुद्ध राजनीति गर्नुस् ।’

सबै पेसाकर्मीको राजनीतिमा आकर्षण बढेको भन्दै उनले आफ्नो पेसामा गम्भीर भएर लाग्न आग्रह गरे । ‘निर्माण ब्यवसायीहरु पोलिटिक्समै आउने । कानुन ब्यवसायीहरु पोलिटिक्समै आउने । डाक्टरहरु पोलिटिक्समै आउने । सबै यहीँ आउन खोजिरहेका छन्,’ उनले भने, ‘राम्रो मान्छे पोलिटिक्समा आउनु राम्रो हो । तर यसलाई ब्यापार र पेसासँग जोडियो भने पोलिटिक्सले सही कोर्ष लिन सक्दैन ।’

उनले संघ सरकार संघीयताको मर्म अनुरुप नचलेको आरोप लगाएका छन् । ‘सत्ता फेरियो, सरकार फेरियो, संरचना फेरियो तर, माथि बस्नेहरुको सोच र कार्यशैली फेरिएन,’ गुरुङ भन्छन्, ‘केन्द्र सरकार एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको छ । हरेक कुरामा एक्लौटी गरिरहेको छ । यसरी संघीयता कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण हुन्छ ।’ संघकै कारण प्रदेश तथा स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ ।