नक्कली खेलाडीबारे छानवीन गर्न रञ्जितको माग

पोखरा, माघ १ ।
अखिल नेपाल फुटवल एशोसिएसन कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले पोखरामा जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा खेलिरहेका नक्कली टीमको छानवीन गर्न माग गरेका छन् । सोमबार प्रेस बक्तब्य जारी गर्दै उनले नेपालको खेल जगतमै यसले असर गर्ने भन्दै तत्काल छानवीन गरि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । ‘खेलले राष्ट्रिय एकता कायम राख्छ । खेलकुदको सम्बन्ध बहुराष्ट्रबीच निकै गाढा र प्रगाढ पनि हुने गरेको छ, विज्ञप्तीमा भनिएको छ–तर यस्ता घटनाले सुमधुर सम्बन्ध पनि विग्रिन सक्छ । बेलैमा सचेत हुनु जरुरी छ ।’ उनले बहुराष्ट्रबीचको प्रतियोगिता निकै फितलो भएको टिप्पणी गरेका छन् ।
पोखरामा जारी प्रतियोगितामा भुटान र माल्दिभ्सको टीम नै नक्कली भएको समाचार सञ्चार माध्यममा प्रकाशित प्रसारित भएपछि उनले यसको तथ्यपूर्ण छानवीन हुनुपर्ने माग राखेका हुन् । ‘माल्दिभ्स र भुटानको नाममा खेलेका खेलाडीहरु भारतीय भएको संचार माध्यममा समाचार छ । सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तराष्ट्रिय छवी कहाँ पुग्ला ? उनले प्रश्न गरेका छन्–यदि यो सत्य हो भने अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो । यसप्रति तत्काल सम्बन्धित निकायको चासो जाओस् ।’ रञ्जितले फरक देशका खेलाडीले आफै समूह बनाएर अर्को कुनै देशको नामबाट खेल्दा पनि अनभिज्ञ नेपाली फुटवलका नियमक निकायमाथी यसले ठूलो प्रश्न सिर्जना गरेको बताएका छन् ।
सांसदले नै उद्घाटन गरेको कार्यक्रममा यस्ता घटना देखिनुले अन्तराष्ट्रिय स्तरमा गलत नजिर जाने भन्दै उनले नेपाली फुटवल वा खेल जगतका नियमक निकायसँग छानवीनको अपिल गरेका हुन् । ‘यति ठूलो प्रतियोगिता नियमक निकायलाई नै जानकारी छैन । खेलभन्दा अघि थाहा हुनुपर्ने कुरा समाचारमा आईसकेपछि पनि मौन रहँदा राम्रो सन्देश जाँदैन, डिएनए नेपालसँग उनले भने–युवा तथा खेलकुद मन्त्रालय, राखेप, क्षेत्रीय खेलकुद विकास समिति लगायतले यसको तथ्य अनुगमन र अनुसन्धान गरी बास्तविकता सार्वजनिक गर्नुपर्छ । एउटै प्रतियोगिताले नेपालको दक्षिण एशियामासम्बन्ध नविग्रियोस् भन्ने मेरो चाहना हो ।’ उनले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन आग्रह समेत गरेका छन् ।