थुनामा रहेका नेविसंघका तीनजना ७ दिनपछि साधारण तारेखमा रिहा, आन्दोलनका कार्यक्रम फिर्ता

पोखरा, माघ २६ ।
नेपाल विद्यार्थी संघ कास्कीका थुनामा रहेका तीन नेताहरु थुनामुक्त भएका छन् । उनीहरुलाई शुक्रबार साधारण तारेखमा थुनामुक्त गरिएको हो । शुक्रबार न्यायधिश काजीबहादुर राईको एकल इजलासले विना धरौटी साधारण तारिखमा छोड्न फैसला गरेको निमित्त श्रेष्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए ।

बिद्यार्थी रिहाईको माग गर्दै नेविसंघले चरणबद्ध रुपमा दवावमुलक आन्दोलनको कार्यक्रम गरिरहेको थियो । अदालतको आदेशमा विद्यार्थी थुनामुक्त भएपछि नेविसंघले सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।

पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी जलाएको आरोपमा प्रहरीले गएको शनिबार नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल भोलिपल्टै रिहा भएका थिए भने बाँकी रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार अदालतले साधारण तारेखमा छाडेको हो ।