तेश्रो पटक नेकपा छिरेका सांसद मनाङे भन्छन्–काँग्रेस पार्टी नै होईन, त्यहाँ फ्रष्ट्रेसन मात्रै छ (अन्तरबार्ता)

पोखरा, असार १९ ।
मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार तेश्रो पटक नेकपा प्रबेश गरे । चुनाव अघि नै काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टीमा छिरेका उनी दोश्रो पटक चामेमा नेताहरुको उपस्थितीमै नेकपा प्रबेश गरे । विहिबार मुख्यमन्त्री तथा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङको हातबाट माला र अविर लगाएर मनाङे पार्टी प्रबेश गरेका हुन् । उनी नेकपा छिरेपछी गण्डकी प्रदेशसभामा नेकपाकाे एक्लै दुई तिहाई बहुमत पुगेको छ ।

उनको पार्टी प्रबेश र राजनीतिक भूमिका बारे डीएनए नेपाल डटकमका सम्पादक प्रकाश ढकालले मनाङेसँग कुराकानी गरेका छन् । प्रश्तुत छ, सोही कुराकानीको सम्पादित अंश–

तेश्रो पटक नेकपा प्रबेश गर्नुभयो, विशेष कारण के छ ?

मैले खासै डिमाण्ड गरेको छैन । काम गर्ने हो, क्यापासिटी अनुसार जिम्मेवारी पाउने हो । सांसद एमालेसँग मिलेर नै भएको हो । कसैलाई लुकाएर लुक्ने कुरा होईन । अहिले विकास समितिको सदस्यमा छु । यही पदमा राम्रो गरे भैहाल्यो नि । धेरै पद लिएर काम पनि छैन । जिल्लामा पनि कुनै पद छैन । एउटै ब्यक्ति धेरै तिर लागेर राम्रो काम गर्न सक्दैन । जिल्लामा गर्ने काम नै हो । पार्टीमा चाहीँ थिएन । आफ्ना पक्षका मान्छेहरुलाई जिताउन लागें । काँग्रेसमा सबैभन्दा ठूलो समस्या नै समयमा चुनाव नगर्ने हो । चुनाव भए नयाँ मान्छे आउँछ ।

पहिले त काँग्रेसमा नजिक हुनुहुन्थ्यो नि । किन मन परेन, त्यो पार्टी ?

काँग्रेसलाई पार्टी भन्दा पनि मेरा आफ्ना मान्छेहरु भएकोले लागेको हुँ । काँग्रेसमा नेताले मोज गरे । कार्यकर्ताहरुले डण्डा खाए । सत्तामा यत्रो बर्ष काँग्रेस नै रह्यो । तर परिवर्तन भएन । नेतृत्व गर्ने मान्छेको समस्या भयो । हामी त त्यसलाई छोडेर आयौं, हामी बच्यौं । त्यहाँ भएकाहरु फसिसके । १०÷१२ बर्ष भयो मैले काँग्रेस छोडे ।

तपाईंहरु आफै नै पार्टी हो । तपाईं जता गयो, त्यही पार्टीले चुनाव जित्छ भन्छन् । नेकपा प्रबेश गर्नुपर्ने बाध्यता किन आयो ?

म र पाल्देन दाई (पाल्देन छोपाङ गुरुङ) छिर्दा मनाङमा केही थिएन । सरकार काँग्रेसको थियो । ठूलो प्रतिश्पर्धा थियो । पार्टी भनेको मनाङमा केही काम छैन । ब्यक्ति ठूलो कुरा हो । राम्रो ब्याक ग्राउण्डबाट गयो भने चुनाव जित्छ । पाल्देन दाइ राम्रो ब्याक ग्राउण्डमा हुनुहुन्थ्यो । वहाँको बुवाले पनि धेरै दुख गर्नुभयो । मनाङमा एउटा जमाना थियो, झिटीगुण्टाको ब्यापार गथ्र्यो । अहिले त्यो अवस्था छैन । फार्मिङ र एग्रिकल्चरमा आकर्षित छन् । पाल्देन दाइले त्यो अवस्था ल्याउनुभयो । हामी त्यही भएर सल्लाहमै पार्टी प्रबेश गरेका हौं ।

त्यतिबेला नै पार्टीबाट चुनाव लड्ने कुरा थियो । तर मलाई मिडियाले धेरै कुरा लेखिदियो । पार्टीलाई पनि त्यो कुरा पचेन होला । अनि मलाई टिकट दिएन । मेरो क्यापासिटी पनि हेरेको होला । आजसम्म तेश्रो पटक भैसक्यो पार्टी प्रबेश गरेको । काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टी छिरें । मनाङमा पनि नेताहरुसँग टिका लगाएर पार्टी छिरिसकेको हो । चुनावभन्दा धेरै अगाडी पार्टी प्रबेश गरेको हो । देशमा दुई तिहाई आउला भनेर हामी नेकपामा गएको होईन । तर मनाङमा परिवर्तन ल्याउने भनेर मात्रै छिरेका हौं । बहुमत आउँछ भन्ने पनि लाग्दैनथ्यो ।

दीपक मनाङे भन्ने नामले तपाईंलाई चिनायो । अहिले सांसद भएपछि तपाईंलाई त्यो नामसँग रिस उठ्न थालेको वा मन नपरेको हो ?

होईन, मलाई त्यस्तो केही लाग्दैन । नेपालमा सबैजसोको दुईतीन वटा नाम हुन्छ । कसैलाई काईला भन्ला, कसैलाई कान्छा भन्ला । त्यस्तै मलाई दीपक भनेको हो । म पढ्ने ठाउँमा नेपाली नाम बढी चल्थ्यो । लामाले हेरेको नाम कर्मा थियो । त्यतिबेला त्यो नाम भारतमा त्यसलाई तिब्बेतियन नाम भन्थे । अनि दीपक भन्न थाले । हाम्रो गाउँमा सबैको निक नेम छ । संसदमा नागरिकताको नाम चल्छ । मेरो नागरिकतामा राजीव छ । मेरो नाममा मलाई कुनै आपत्ति छैन । जसको नाममा जिल्लाको नाम जोडिन्छ, किन आपत्ति जनाउनु ? स्याङजाका मान्छेलाई स्याङजाली भन्दा रिसाउनु पर्छ र ? मनाङे जोडिदा मलाई खुशी लागेको छ । गर्व लाग्छ ।

निर्वाचन जितेपछि पनि तपाईं सांसद बन्न निकै समस्या भयो । लामो समयसम्म सपथ लिन पाउनुभएन नि !

साढे ८ महिना त म जेलमै बसें । मुद्धा भईञ्जेल जेलबाट आएर सपथ लिन मन लागेन । कतिपयले सबैसँग सपथ लिनु भन्ने सल्लाह पनि दिए । तर मलाई चोरजस्तो भएर सांसद बन्न मन लागेन । कैद त मैले ६१ सालमै पूरा गरेको थिएँ । त्यतिबेला काँग्रेसको सरकार थियो । काँग्रेसले मनाङमा आफ्नो प्रतिनिधि भएर चुनाव लड्न प्रश्ताव गर्यो, मलाई मन परेन । काँग्रेस मात्रै हो मसँग रिसाएको । सरकारले भनेपछि न्यायलय पनि इन्फ्लुयन्स हुने रहेछ ।

मनाङमा मैले वहाँको तर्फबाट लड्दा समस्या थियो । तर्साएर जित्ने होईन, खुशीले भोट हाल्ने हो । नेकपामा पनि गाह्रो थियो । चुनाव जित्न होईन लड्न पनि कठिन थियो । पाल्देन दाइ र म नभएको भए भोट हाल्न पनि आउँदैनथे मतदाताहरु । काँग्रेसले त्यतिबेला पनि दुख दिएको हो ।

कुनै डिमाण्ड छैन पार्टी प्रबेश गर्दा भन्नुभयो, केही नदिईकन ल्याएजस्तो त लाग्दैन !

स्वतन्त्र चुनाव जितेर आएपछि महशुस गरें, साह्रै गाह्रो हुने रहेछ । प्रत्येक कुरामा, जस्तो बजेटमा गाह्रो हुने रहेछ । बिजनेस गरेर बसेको मान्छे, राजनीति कसरी गर्ने भन्ने भन्ने नै मलाई अलमल छ । सल्लाह कोसँग लिने ? अहिले सल्लाह लिन प्रदेश सांसदहरु ४० जना भए । सिंगो पार्टी भयो । अब त सजिलो भयो नि । मैले पाएकाे त्यही हाे ।

राजनीतिसँगै जोडिएर ब्यापार गर्नुभएको होईन र ?

मैले राजनीतिलाई त्यतिबेला सामाजिक कार्यसँग जोडे । पद लिईन । चुनाव लडिन, केही मान्छेलाई सहयोग गरें होला । अव लाखौं मान्छेलाई मैले परिवर्तनको महशुस गराउनु छ । अहिले पनि राजनीति मेरा लागि समाजसेवा नै हो । तर राज्यको श्रोतबाट सेवा गर्छु । पहिले मैले गोजीबाट गर्थें । आँफै नाङ्गो भएपछि अरुलाई के दिने ? सँधै ब्यक्तिगत सहयोग गर्न सकिँदैन । अव राज्य तहमा मनाङको अधिकार स्थापित गराउनु छ । समाजसेवालाई राजनीतिसँग जोड्छु । ४५ हजार तलव छ, यसले त चिया खान पनि पुग्दैन । पूरै समय जनतालाई दिनु छ । यो समाजसेवा नै हो ।

मनाङ विकट जिल्ला । प्रदेश र प्रतिनिधि सभामा अव नेकपा प्रबेश गरेको छ । मनाङले तपाईंबाट र नेकपाबाट के पाउँछ ?

मनाङ आँफैसँग धेरै कुरा छ । त्यहाँका मान्छेले सरकार हेरेर बस्दैन । अव परिवर्तन गर्ने भनेको पक्की बाटो हो । अहिले पर्यटक धुलो खाँदै मनाङ जान्छन् । पर्यटन हराउन सक्छ । त्यसैले तारगेट नै बाटोमा छ । खानापिना अहिले जुन पोखरामा छ, त्यो मनाङमा पनि छ । पोखराको वातावरण मनाङमा पनि छ । खाली हाम्रोमा डिस्को छैन, क्लव छैन, लाउञ्ज छैन, त्यत्ति हो । राम्रो होटलहरु छ । रेष्टुरेण्टहरु छ । ट्रेकिङको हिसावले हेर्ने हो भने, सबैभन्दा सस्तो ट्रेकिङ छ हाम्रो ।

सुतेको भाडा एक/दुई सय छ । खानाको मात्रै पैसा लाग्छ । अरु ठाउँको पर्यटन हेर्नुस् त कति महङ्गो छ । पहिलेदेखि नै मान्छे आएपछि सुत्न दिने खानाको पैसा लिने चलन थियो । त्यही ट्रेण्डमै छ, अहिले पनि । एउटा बाटोको समस्या छ । प्रदेश सरकारसँग माग गरेका छौं । ३ करोड ५० लाख परेको छ । यतिले त पुग्दैन । तर सबैलाई बाँड्नुपर्छ । प्रत्येक बर्ष पैसा पार्ने र बाटो पीच गर्ने हो ।

बाटो बनाउनकै लागि हिजो (बुधबार) सल्लाह गर्न बसेको हो । म पहिले देखि नै नेकपामा थिएँ, सबैलाई थाहा छ । मेरो चाहीँ सोंच के थियो भने, पहिले नै छिरिसकेपछि कति छिर्ने ? तर यो पाली बजेटलाई हेरेर पार्टी प्रबेश गरें । पार्टी प्रबेश गर्दा बजेटमा फाईदा हुने देखें । नत्र त म एक्लै छु । संसदमा पनि स्वतन्त्र लेखेर एउटा कुर्ची राखिदिएको छ । समस्या आउने रहेछ ।

निर्वाचित भएपछि मनाङ कतिपटक जानुभयो ?

निर्वाचित भएपछि अधिकांश समय त जेलमै विताएँ । छुटेको चार महिना भयो । यो बीचमा दुई पटक पुगेको छु । अव छिट्टै जाँदै छु फेरि ।

के भन्छन् जनताहरु ? के माग्छन् ?

जनतालाई धेरै कुरा चाहिएकै छैन । हाम्रो डिमाण्ड नै उनीहरुको डिमाण्ड हो । बाटो लाने हाम्रो लागि होईन, उनीहरुकै लागि हो । हाम्रो जिल्लामा सरकारले इन्भेष्ट गरेको छ । अरुमा भन्दा धेरै फरक छ । ब्यापारबाट आएको हुनाले सरकारलाई पनि फाईदा हुनुपर्छ भन्ने लाग्छ । मनाङका मान्छे आएर जागिर खोज्दैन । उनीहरुलाई चाहिएको बाटो हो ।

पार्टी प्रबेश गरेपछि भूमीका के हुन्छ ? पार्टी संगठन कसरी विस्तारमा लाग्नुहुन्छ ?

माईण्ड मेकअप गरेर नै मलाई भोट हालेका हुन् । नेकपाकै भोटरले नै भोट हालेर चुनाव जितेको हो नि । वहाँहरु तयार हुनुहुन्छ ।

तपाईं बाहेक अरुले चुनाव लडेपनि त्यति नै भोट आउँछ ?

जो पायो त्यही लडेर चुनाव जित्दैन । चुनाव लड्न पनि सक्दैन । मनाङमा गाह्रो पनि छ । त्यहाँको राजनीति झण्डामा हुन्न, परिवारमा हुन्छ । पञ्चायत राजनीति जस्तो हो । जसको ठूलो परिवार छ, त्यसैले जित्ने हो । परिवार ठूलो छैन भने, झण्डा हल्लाएर, पैसा बाँडेर चुनाव जित्नुहुन्न । प्रतिनिधिसभा र हामी मिलेर लड्यौं, हाम्रो परिवार ठूलो छ, त्यसैले जित्यौं । हामीले नेकपा बनेर के दिएका छौं र ? अव बल्ल दिने हो । मनाङमा चुनाव लड्न हिम्मत चाहिन्छ ।

तपाईंको भन्दा ठूलो परिवार आयो भने अरुले जित्ने भयो ?

हाम्रो भन्दा ठूलो परिवार मनाङमा कसैको छैन । मैले सबैलाई परिवार जस्तो बनाईसकें । अरुले त्यो आँट गर्न सक्दैनन् । मर्दा, पर्दा, विहे हुँदा म पुग्छु । परिवार भनेकै यही हो नि ।

यति दुख गर्नुभयो, धेरै साथीहरु उतै छन्, किन छोड्न मन लागेको चटक्कै काँग्रेसलाई ?

हैन, काँग्रेस भनेको पार्टी नै होईन । यति चाकडी गर्नुपर्छ त्यहाँ । सबै पार्टीको विधान त राम्रै हुन्छ । तर चलाउने मान्छे भएन । मजस्तो फ्रष्ट्रेट मान्छे धेरै छ, काँग्रेसमा । म त हिम्मत गरेर आएँ । उनीहरुलाई हिम्मत आएन ।

नेकपाको के कारणले तानेको तपाईंलाई ?

मलाई नेकपाले तानेको होईन । प्रतिनिधिसभामा चुनाव लड्ने मान्छेको भिजनमा जाने हो । झिटी गुण्टाको ब्यापार छैन अहिले । यस्तो अवस्थामा एग्रिकल्चर फार्मिङको कम्सेप्ट ल्याउनुभयो । यो नै सबैभन्दा ठूलो कुरा हो नि । हामीले नेताको विचारलाई रेस्पेक्ट गर्ने त हो नि ।

पार्टी भन्दा पाल्देनको बिचार राम्रो लागेर आउनुभएको हो ?

पार्टी त के हो र ? मान्छे, नेता सबैभन्दा महत्वपूर्ण कुरा हो । पार्टी त हामीले बनाउने हो नि ।

काँग्रेसभित्र बसेर चाहीँ बनाउन सक्नुभएन ?

काँग्रेसमा सकिन्न । धेरै गाह्रो छ । हामी जुन नेपाली काँग्रेस भन्छौं, त्यो नेपालको पार्टी नै होईन । भारतको हो कि युरोपियन काँग्रेस हो कि, अमेरिकन काँग्रेस हो अलमलमा छु ।

नेकपा चाहीँ नेपालकै हो ?

म अहिले माओबादी वा एमालेमा छिरेको छैन । नेकपामा छिरेको भएर नेपालकै पार्टी भन्ने लाग्छ । काँग्रेसको त मैले सबै हेरेको छु । २० बर्षसम्म काम गरेर कसलाई छोड्न मन लाग्छ र ? मान्छेहरु फ्रस्ट्रेट छ । म चाहीँ जोगिन निस्किएको हो । कति मान्छे रक्सी खाएर मरिसके । म त्यसरी नमरौं भनेर निस्किएको हो ।

संसदभित्र अव के भूमिका हुन्छ, तपाईंको ?

नयाँ कुरा त्यहाँ केही पनि छैन । त्यहाँ बोलेर कुनै अर्थ छैन । बोल्दा नयाँ कुरा आएन भने, बोल्नुको तुक छैन । देशमा बजेटको समस्या आईरहेको छ । यस्तो बेलामा ठूलो कुरा मागेर मात्रै हुँदैन । मलाई पनि थाहा छ, मनाङमा बाटो काम छैन, केवुलकार चाहिन्छ भने । बाटोमा गरेको लगानी वेष्ट हो अहिले । प्रत्येक बर्ष भत्किन्छ । पहिरो जान्छ । त्यसको के काम ? हामीसँग पानी छ । केवुलकार चलाउन सके दीगो हुन्छ । तर पैसा छैन, मागेर के गर्नु ?

सरकारले गरेको काम कस्तो लाग्छ ?

मनाङले २० बर्ष काँग्रेसलाई हेरेको हो । खासै केही चेञ्ज आएन । अहिले २ बर्ष लाग्दैछ, नेकपाको सरकार बनेको छ । केही परिवर्तन सुरु भैसक्यो । जनताका साना साना मागको सम्बोधन गरेको छ । यही हो सरकारको काम । पानी, बाटो, विजुली जनताको आधारभुत कुरा हुन् । रेलमार्ग, पानी जहाज समय लाग्छ । जिल्लामा अहिले तत्काल चाहिने कुरा पाएको छ । अस्ती मनाङ जाने पुल बगायो, अहिले काठेपुल हालेर गाडी पास गरेको छ । काँग्रेसले भए पछि गरौंला, ठूलो पुल हालौंला भन्थ्यो । यही हो काँग्रेस र कम्युनिष्टमा भएको फरक । सरकारले राम्रो काम गरिरहेको छ ।

Photo-Sudarshan Ranjit