तनहूँबाट देउवाले भने–निर्मलाका हत्यारलाई सरकारले लुकायो

तनहूँ, माघ ६ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको बताए ।

‘हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भए पनि हत्यारा पत्ता लगाउन नसक्नुले संरक्षणमा सरकारको संलग्नता मान्न सकिन्छ’ उनले भने, ‘देशमा बलात्कार, हत्या, हिंसा तथा आतङ्क जस्ता आतङ्कित कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल सावित भइसकेको छ ।’

नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक र समावेशी पार्टी भएको दाबी गर्दै देउवाले महिला, जनजाति, मधेसी, अल्पसङ्ख्यक सबैलाई समेटेर आरक्षण गरेको र अब पार्टी मजबुद भएर अगाडि बढेको बताए । गोविन्दराज जोशीले आव्हान गरेको विशेष अधिवेशन स्थगित गर्न सभापति देउवाले आग्रह गुर्नका साथै नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको नाममा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज नगर्न सरकारलाई सुझाए ।

उनले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको र अनुशासनको पालन नभएकै कारण कांग्रेस कमजोर बनेको दावी गरे । पार्टीलाई एक ढिक्का बनाएर लैजान सबैले पार्टीको विधिविधानभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘मतभेद सबै ठाउँमा हुन्छ, केही गुनासा र नमिलेका कुरा छन् भने पार्टीभित्र राख्नु र्पयो, ती विषयमा छलफल हुन्छ’, सभापति देउवाले भने, ‘तर, विधि र विधानभन्दा बाहिर गरिने गतिविधि कुनै पनि हालतमा मान्य हुँदैन र त्यस्तो गतिविधि गर्नेलाई कारबाही हुन्छ ।’ उनले छाडातन्त्र अन्त्य गर्नका लागि पार्टीभित्र अनुशासन समिति बनाउने पनि स्पष्ट पारे ।