डब्लुआरसी स्ववियु सभापतिको कोठामा तोडफोड
पोखरा, असोज ५ ।
इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी भएको छ । कलेजको होस्टलमा बस्दै आएका पौडेल गएराती साथीकोमा सुत्न गएको मौका पारेर तोडफोड र आगजनी भएको बताइएको छ ।
एमाले निकट अखिलका नेतासमेत रहेका पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका नेविसंघ सभापति अमन भुसालसहित १५÷२० जनाको टोलीले तोडफोड र आगजनी गरेको बताएका छन् । उनका अनुसार सो समूहले क्याम्पसको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड र वार्डेनलाईसमेत हातपात गर्नुका साथै कोठामा गएर टेबल तथा कुर्सीहरु तोडफोड गरेको थियो ।
तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने ढोका, टेबल र खाटमा क्षेति पुगेको छ । आफूलाई खोज्दै आएको समूहले कोठामा तोडफोड गरेपछि आफूले ओढ्ने सिरक, ओछ्याउने डसना, पाइन्ट, सर्टलगायतका कपडाहरु बाहिर ल्याएर जलाएको उनले बताएका छन् । आफूलाई कुटपिट गर्ने उद्देश्य भएपनि आफू क्याम्पस हाताभन्दा बाहिर भएका कारण जोगिएको उनको भनाई छ ।
घटनाबारे क्याम्पस प्रमुखले प्रहरीलाई खबर गरेपछि मात्रै उनीहरु भागेको बताइएको छ ।
तर क्याम्पस प्रशासनले भने घटना सामान्य भएको बताएको छ । यद्यपी घटनाबारे थप बोल्न नमिल्ने भन्दै क्याम्पस प्रमुख रामप्रसाद पौडेल पन्छिए । तर सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले नेपाल विद्यार्थी संघका नेताको नेतृत्वमा आएको समूहले तोडफोड र आगजनी गरेको बताए ।
यसैबीच, पीडित स्ववियु सभापति पौडेलले दोषीमाथी कार्वाही गर्न माग गरेका छन् । उनले आफ्नो ज्यानमाथी नै खतरा उत्पन्न भएको भन्दै आफ्नो सुरक्षा ब्यवस्था गर्न पनि भनेका छन् । पौडेलले क्याम्पस प्रशासनको मौनता र लाचारीपनले क्याम्पसमा बेथिति र गुण्डागर्दी मौलाएको आरोपसमेत लगाएका छन् ।