जेलमा रहेका रेशम चौधरीलाई सांसदको सपथ खुवाउने तयारी

काठमाण्डौं, पुस १९ ।
टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले सांसद् पदको सपथ आज (बिहीबार) लिने भएका छन् । बिहान साढे ११ बजे सपथ लिने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सपथ सारिएको हो । संसद बैठक १२ बजे बस्ने भएकाले अहिले समय अभाव भएको बताइएको छ ।

यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियो । हाल थुनामा रहेका चौधरीलाई सपथ लिएपछि पुनः कारागार नै लगिने छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो । उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए ।

टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो । चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । उनी हाल डिल्लीबजार कारागारमा छन् ।