जन्ती बोकेको जीप र बस ठोक्किए–बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु

दाङ, मंसिर २७ ।
दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो जिप ठोक्किएका हुन् ।

मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी र ४९ वर्षीय विश्वनाथ अधिकारी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए ।

बेहुली र बेहुला भने अर्काे गाडीमा थिए । बुवा(आमा र आफन्त चढेको जिप विपरित दिशाबाट आइरहेको बससँग बिहीबार बिहान ठोक्किएको हो । घाइतेमा राप्तीसोनारी– ८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् । घाइते दुवैको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ ।