छिमेकीको करले करोडपति
प्रकाश ढकाल
पोखरा, असोज २५ ।
‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका दिपक तिमिल्सीनाको पूरै परिवार भैँसीले धानेको छ । छोराछोरी पोखराका स्थापित बोर्डिङ स्कुलमा पढ्छन् । चाहिएको बेला गर्जो टार्ने सम्पत्ती ऋण खोज्नुपर्दैन । नयाँबजारमा अरु सराईको घर छ । ‘पैसा कमाउन न विदेश जानुपर्छ न जागिर खानुपर्छ, उनी भन्छन्–अरुलाई जागिर दिएर मज्जासँग सम्पत्ती जोड्न सकिन्छ ।’ उनको फार्ममा २१ जना कामदारले भैंसीको स्याहार सुसार गर्छन् ।
तिमिल्सीना ब्यवसायिक भैँसीपालक किसान हुन् । पोखरा १४ चाउथे नजिक बिजयपुर खोलाको आडमा १६ रोपनी जग्गा लिजमा लिएर २०७० सालदेखि उनले ब्यवसायिक रुपमै भैंसी पालिरहेका छन् । गोठमा झण्डै २ सय भैँसी छन् । बार्षिक २ लाख भाडा बुझाउने गरी १० बर्षका लागि जग्गा भाडामा लिएको उनले बताए । यसबाहेक पोखरा १४ कै खाल्टेमसिनामा पनि १३ रोपनी जग्गा लिएर अर्को फार्म तयार गरिरहेका छन् । दुईवटा फार्ममा ४ सय भैंसी पु¥याउने योजना रहेको तिमिल्सीना बताउँछन् । ‘बाबुबाजेले झैँ केटाकेटीलाई दुध खुवाउन दुईटा भैँसी पाल्यौं । घरमा खाएर बँचेको छिमेकीले लैजान थाले, उनले भने–पछि राम्रो दुध पाईने होहल्लाले वरिपरीका सबै दुध माग्न आए । हामीले पनि भैँसी बढाउँदै गयौं ।’ नजिकका छिमेकीलाई दिनकै लागि १२ वटासम्म भैंसी पालेको उनी सुनाउँछन् । ‘पहिले प्लानिङ सहित होमवर्क गरेर पालेको होइन । छिमेकीकै करले भैँसी बढायौं, उनी भन्छन्–१२ वटा पुगेपछि ब्यवसायिक रुपमै काम गर्ने जाँगर आयो । अनि प्लानिङ गरेर भैँसी थप्न थालें ।’
भैँसीको दुधको बजार माग निकै बढेको उनको अनुभव छ । माग बढेपछि ब्यापारीले मिसावट सहितको दुध बेच्छन् । त्यो समस्या पोखरामा झन् बढी छ । क्वालिटीमा कम्परमाइज नगरेकै कारण आफ्नो ब्यवसाय फष्टाएको तिमिल्सीनाको ठम्याई छ । ‘दिनहुँ उपभोक्ताको माग बढ्दो छ । तर उत्पादन छैन, उनले थपे–१० दिनसम्म क्वालिटीको दुध दिएर पल्काउने अनि पानी मिसाएर दुध बेच्ने चलन पोखरामा छ । त्यसलाई रोक्न मैले क्वालिटीलाई बढी ध्यान दिन्छु ।’
दुध बेच्नका लागि नयाँबजार, रत्नचोक, सभागृहचोक र बुद्धचोक गरी पोखराको ४ ठाउँमा जानकी एग्रो फार्मको नाममा डिलरहरु छन् । फार्ममा उत्पादित दुध डिलरमा ल्याएर प्रशोधन गरेपछि उपभोक्तालाई वितरण गरिने तिमिल्सीनाले बताए । फार्मबाट १ सय ८ रुपैयाँमा खरिद हुने दुध डिलरले उपभोक्तालाई १ सय २० रुपैयाँसम्म बेच्छन् । तिमिल्सीनाको गोठमा मुर्रा, गुजराती, पञ्जावी क्रस र स्थानीय क्रस जातका भैँसीहरु छन् । ति भैंसीहरु भारतको विहार, उत्तर प्रदेश र नेपालका बारा, पर्सा, रौतहट, सर्लाही लगाएतका क्षेत्रबाट आयात हुन्छन् । एक सिजन दुध दिएपछि मासुका लागि भैँसी बच्ने गरेको उनले बताए । ‘एउटा भैंसीले म्याक्सिमम ९ महिना दुध दिन्छ । बाली लगाएर फेरी ब्याउने बनाउन थाल्दा लगानी बढी हुन्छ, उनले भने–दुध सुकेपछि चाहेर पनि पाल्न सक्दैनौं । त्यसलाई बेचेर लैनो भैंसी किन्ने हो ।’ १ लाख हाराहारीमा खरिद गरिएको भैँसी दुध थाकेपछि ५० हजारमा विक्रि हुने उनी बताउँछन् ।
उनको गोठबाट दिनकै ८ सय लिटर हाराहारीमा दुध बिक्रि हुन्छ । ४ करोड लगानीमा सुरु गरिएको फार्मबाट महिनामा ८ देखि ९ लाख कमाई हुने उनले बताए । ‘भैंसी पालेर स्थापित हुँला भन्ने सोचेकै थिईन । भैँसी पाल्ने योजना पनि थिएन, उत्सुक हुँदै उनले भने–नसोचेको पेशामा हात हालें । कमाई पनि उस्तै छ । अहिले ब्यवसायिक किसान बनेको छु ।’ भैँसी पालेकै कारण उनले अघिल्लो बर्ष सरकारले प्रदान गरेको युवा उद्यमी सम्मान समेत हात पारे । पोखरामा दुध उत्पादन कम भएकाले बजार माग धान्न धौधौ भएको उनीको बुझाई छ । कास्कीमा ब्यवसायिक रुपमै धेरै किसानहरुले ठूला फार्महरु सुरु गरेका छन् । तर सरकारले ब्यवसायिक किसानलाई हेर्ने दृष्टीकोण कहिलै सकारात्मक नभएको किसानहरुको गुनासो छ ।
अनुदानका कार्यक्रम समेत टाठाबाठाले पोल्टामा पारेपछि बास्तविक किसान मर्कामा परेका छन् । कास्कीमा हाल ४५ हजार भन्दा बढी गाई छन् भने झण्डै १ लाख ४० हजार भैँसी छन् । उत्पादित दुध मध्ये ६० प्रतिशत भैँसी र ४० प्रतिशत गाईको छ । जिल्लामा उत्पादित ३० हजार लिटर भन्दा बढी दुध बजारसम्म आईपुगेपछि अझै २० हजार लिटर दुध अपुग छ । जिल्ला कृषि विकास कार्यालयले पनि किसानलाई अनुदान दिएरै भएपनि दुध उत्पादनमा लगानी गरेको थियो । तर राज्य पुनर्संरचना पछि भने सबै बजेट तथा कार्यक्रम स्थानीय तहको अधिकार क्षेत्रभित्र पुगेको छ । यसले किसानहरुलाई बढी राहात हुने अपेक्षा गरिएको छ ।