छानामाथीको दाउरा–मुस्ताङीको प्रतिष्ठा
प्रकाश ढकाल
मुस्ताङ, जेठ १३ ।
सेतो र रातो माटोले लिपेको घर । माटोकै छाना र छानामाथी दाउराको चाङ । ढुंगा बिछ्याईएको आँगन र ढुंगैको बाटो । घासाबाट उकालो लागेपछि उपल्लो मुस्ताङको छोसेर सम्म सबैजसो घरको छानामा लस्करै दाउराको चाङ देखिन्छन् ।
‘पहिले गाउँमा अधिक हिउँ पथ्र्यो । महिनौं सम्म घरबाट निस्किन सकिँदैनथ्यो । त्यसैले हिउँदभरीलाई पुग्ने दाउरा पनि बर्खामै जोहो गरिसक्नुपथ्र्यो–मुस्ताङ छैंरोका विनोद थकाली आफ्नो विगतको अनुभव सुनाउँदै भन्छन्–हिउँदको लागि दाउरा खोज्न महिनौंसम्म वन धाउँथ्यौं । हिउँ पर्न थालेपछि छानामा थुपारेको दाउरा झिकेर आगो बाल्ने चलन थियो ।’
घरमाथी दाउरा राख्नुलाई मुस्ताङीहरु परम्परागत प्रतिष्ठाको रुपमा हेर्छन् । एक समय छानामा दाउराको खलियो हेरेर विहेवारीका कुरा टुंगिन्थे । थकालीका अनुसार मुस्ताङमा मान्छेको आर्थिक अवस्थाका आधारमा दाउराले छत ढाक्ने छलन छ । उपल्लो मुस्ताङमा चाहीँ घोडा खच्चडको संख्याले सम्पन्नता जाँचिन्छ ।
‘धेरै सम्पत्ति हुनेहरुको घरको पूरै छाना दाउराले सजिन्छन् । आम्दानी कम हुनेहरुको चाहीँ दाउराको चाङ पनि सानै हुन्थे, उनले थपे–घरको छत हेरेर मान्छेको सम्पत्ति सजिलै बुझ्न सकिन्थ्यो । कतिपय विहे छानाको दाउराले पनि जुराएको छ ।’ छानामा दाउरा सजाउन पहिले–पहिले प्रतिश्पर्धा नै हुने उनले सुनाए ।
घरको छतमा दाउरा सजाउने मुस्ताङीको चलन निकै पूरानो हो । मुस्ताङका घरजति माटो र काठबाट बन्छन् (छाना समेत) । माटोकै छानामाथी दाउराको लस्कर सजाउने चलन अहिले पनि हटिसकेको छैन । छतमा दाउराको खलियो बनाउँदा एकातिर घरको सुन्दरता बढेको छ भने अर्कोतिर छतबाट पानी चुहिने समस्या हुँदैन ।दाउरा थुपार्ने संस्कृतिमा पर्यटकको पनि चासो बढ्न थालेको पर्यटन ब्यवसायीहरु बताउँछन् । मार्फाका होटल ब्यवसायी कालबहादुर लालचनका अनुसार मार्फा छिर्ने अधिकांश पर्यटकको रोजाईमा पूराना मोडलका घर र दाउराको सजावट पर्ने गरेको छ । दाउरे संस्कृति मुस्ताङको पहिचान हो ।
‘पछिल्लो समय मार्फामा पर्यटक खासै छिर्दैनन् । गाडी र प्लेनबाट सिधै जोमसोम हुईंकिन्छन्, उनले भने–पूराना परम्परा रुचाउनेहरु चाहीँ फर्की फर्की मार्फा आउँछन्् ।’ लालचनको घरको छानामाथी पनि ८० बर्षअघि देखिको दाउरा सुरक्षित छ । ‘पहिले पानी पर्दैनथ्यो । हिउँले दाउरा कुँहिदैन, उनी भन्छन्–मार्फामा २ सय बर्ष पूराना दाउरा पनि छन् । तर अव पानी पर्न थाल्यो घरै जोगाउने समस्या छ । दाउरा कसरी बचाउँनु ।’
जलवायु परिवर्तनको असर हिमाली जिल्लाहरुमा निकै बढेको छ । उनको अनुभवमा अचेल मुस्ताङमा हिउँभन्दा पानी धेरै पर्छ । ‘सुरुमा विकास देखेको एयरपोर्ट हो । त्यै पनि कहिलेकाहीँ हिउँ धेरै परेर प्लेन आउजाउ नै रोकिन्थ्यो । कति पटक त गाउँले उल्टेर हिउँ फालेको अझै सम्झिन्छु, उनले थपे–अचेल त हिउँ निलगिरीको डाँडाबाट तल झर्दैन । पानी धेरै बर्षेर घर भत्किन थालिसके ।’
मार्फा र आसपासमा बोटविरुवा पनि निकै बढेको स्थानीयको भनाई छ । खासगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले काम गर्न थालेपछि मुस्ताङको माथिल्लो क्षेत्रसम्म विरुवा हुर्किन थालेको उनीहरु बताउँछन् । मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीले मुस्ताङ जिल्लाका उपल्लो भागसम्म पनि पानी पर्ने क्रम सुरु भैसकेको बताए ।
‘अधिकांश घरहरु सखर माटोले बनेका हुन् । पानी परेपछि घर पग्लिन थालेको छ, उनले भने–अचेल सुरक्षाका लागि गाउँलेले ढलान घर बनाउन थालिसके । अव पूराना संरचना जोगाउन निकै मुश्किल छ ।’ जलबायु परिवर्तनकै असरले पूराना घरहरु विस्तापित हुने खतरा बढेको उनले बताए । यद्यपी अहिले पनि ९० प्रतिशत भन्दा धेरै घरहरु माटोकै छन् ।
मुस्ताङका घरमाथी दाउरा राख्ने चलनबारे अझैपनि स्पष्ट तथ्याकं पाउन सकिँदैन । स्थानीयको अनुभवले चाहीँ यसको इतिहास निकै लामो जनाउँछ । जिल्लाका प्रत्येक गाउँमा गाउँले र वन उपभोक्ता समितिको समन्वयमा बर्सेनी एक सिजन जंगलबाट सुकेका दाउरा जम्मा गर्ने अनुमति पाईन्छ ।
आधुनिकीकरणको विस्तारसँगै मुस्ताङका होटल रेष्टुरेण्टदेखि सर्वसाधारणको घरमा पनि अहिले ग्याँस प्रयोग गर्ने दर बढ्दो छ । जसका कारण दाउराको खपत खासै हुँदैन । अहिले कुल उर्जामध्ये ७० प्रतिशत हाराहारीमा दाउराको खपत हुने तथ्याकं छ । दाउरा खोज्ने झण्झट र ढुवानीको समस्याले लामो समयदेखि छानामाथीको दाउरा फेरवदल भएको छैन ।
मुस्ताङमा एक जोडी झोपाले बोक्ने दाउरालाई ३ हजार रुपैयाँ पर्छ । एक जोडी झोपाले चलनचल्तीको ४ भारी दाउरा बोक्छ । आधुनिकीकरण र बढ्दो जलबायु परिवर्तनका कारण विस्तारै मुस्ताङको पहिचान धरापमा पर्न थालेको छ । यसबारे स्थानीय स्तरमा पनि छलफल र बहस भैरहेको अगुवाहरुले बताए ।