छाडा चौपाया महानगरलाई टाउको दुखाई, निजी क्षेत्रलाई जिम्मा दिने तयारी

पोखरा, असोज २१ ।
दिनहूँ छाडा चौपाया बढ्न थालेपछि यसको ब्यवस्थापन पोखरा महानगरपालिकाका लागि टाउको दुखाई बन्न थालेको छ । अनियन्त्रित रुपमा चौपाया सडकमा छोड्ने प्रचलनले ब्यवस्थापन नै चुनौतिपूर्ण बन्दै गएको हो । पटक पटक ब्यवस्थापनका योजना आएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा अहिले पोखराका सबैजसो चोक र सडकहरुमा छाडा चौपायाको त्रास छ ।

महानगरपालिका आँफैलाई काम गर्न समस्या भएपछि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी छ । ब्यक्ति विशेष वा संघसंस्था र सहकारीलाई ब्यवस्थापनको जिम्मा दिने गरि कार्यविधि तयार भैरहेको महानगरले जनाएको छ ।

यसका लागि पोखरा १७ मा ठाउँको ब्यवस्थापन गर्न कार्यपालिका बैठकबाटै एउटा विशेष समिति गठन भएको छ । १७ नम्बर वडाका वडाध्यक्ष तीर्थ अधिकारीको नेतृत्वमा व्यवस्थापन गर्ने उपयुक्त ठाँउको अध्ययन टोली गठन गरिएको हो । टोलीले महानगरपालिका क्षेत्रभित्र उपयुक्त स्थान पहिचान गर्न स्थलगत अध्ययन गरिरहेको छ । वडाध्यक्ष अधिकारीका अनुसार पोखरा महानगरपालिका १७ महतगौंडा, वडा नम्बर १५ मा, वडा नम्बर ३२ र वडा नम्बर २५ हेमजामाा जग्गा हेरिएको छ ।

‘सबैभन्दा राम्रो ठाउँ हेमजामा भेटिएको छ, वडाध्यक्ष अधिकारी भन्छन्–फाईनल भने भएको छैन । अझै केही चरणमा अध्ययन र छलफल गरेपछि टुंगो लाग्छ ।’ उनका अनुसार हेमजामा झण्डै १ सय ५० रोपनी क्षेत्रफलको सेती नदी किनारको मानवबस्ती नभएको जग्गा उपयुक्त देखिएको छ ।
उनले हेमजाका वडाध्यक्षसँग समेत आवश्यक छलफल भएको भन्दै त्यहाँ भए महानगरपालिकाले कार्यविधि बनाई अगाडि बढ्न सक्ने बताए ।

‘केही सहकारीहरुले चासो दिएका छन् । ठाउँ टुंगिएपछि ईच्छुकहरुको प्रश्तावना मागेर अगाडी बढ्छौं, मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना भन्छन्–महानगर कार्यविधिको तयारीमा जुटेको छ । यसलाई दीर्घकालीन रुपमा नै ब्यवस्थापन गर्ने हो ।’ नगर क्षेत्रभित्र छोडिएका छाडा चौपायाले बजारका मुख्य सडक अस्तव्यस्त बन्दै गएको छ । सडकमै पशुहरु बस्दा दुर्घटनाको जोखिम उत्तिकै छ । पोखरामा झण्डै २ हजारको संख्यामा छाडा चौपाया रहेको अनुमान गरिएको छ ।

स्याङजा र तनहुँको शुक्ला गण्डकी नगरपालिकाबाट खेदिएका चौपाया समेत पोखरा आउने गरेका महानगरपालिका बताउँछ । महानगरपालिकाले मृत चौपाया, दोपाया व्यवस्थापनको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजन गरेपनि कार्यविधिसहितको व्यवस्थापन नहुदाँ वर्षेनी समस्या विकराल बन्दै गएको हो ।

गत वर्ष महानगरपालिकाले पोखरा २० थानापति दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरेर ब्यवस्थापनको जिम्मा दिएको थियो । तर दीर्घकालीन ब्यवस्थापन हुन सकेन । सम्झौता अनुसार महानगरपालिकाले सहकारीलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । सडक निर्माण लगायत अन्य पुर्वधारको लागि महानगरपालिकाले ६० लाख भन्दा बढी खर्च गरिसकेको जनाएको छ । तर स्थानीयको निरन्तर विरोध पछि त्यस ठाउँमा पनि चौपाया पठाउन छोडिएको छ ।