चिप्लीमा शिवरात्री मेला, नयाँ होमस्टे सुरु

पोखरा, फागुन २५ ।
कास्कीको मादी गाउँपालिका ६ चिप्ली गाउँमा रहेको सिद्ध युवा क्लवले ३१ औं बार्षिकोत्सवत तथा महाशिवरात्री मेला भब्यताका साथ मनाएको छ । मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भएको थियो भने गाउँमा होमस्टे समेत सुरु गरिएको छ ।

खुला बास्केटवल प्रतियोगितामा मिलन यूवा क्लव याङजाकोट पहिलो भएको छ भने गाउँ स्तरीय भलिवल प्रतियोगितामा जुरेभूमि युवा क्लव तप्राङले उपाधि हात पारेको छ ।
८ समूह सहभागिता रहेको वास्केटबल प्रतियोगितामा थन्कु देउराली युवा क्लव खिलाङ उपबिजेता भयो भने १० समूह सहभागिता रहेको भलिबल प्रतियोगितामा शित्तलचौतारी युवा क्लब खत्तेडाडा उपविजेता भएको थियो ।

दुबै खेलका उपाधि विजेता समूहलाई नगद ४० हजार, मेडल, प्रमाणपत्र र ट्रफिले र दुबै खेलका उपविजेता समुहलाई नगद ३० हजार, मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो । मेलामा आयोजित छेलो प्रतियोगितामा मादी ३ याङ्जाकोटका पहलमान शरद गुरुङ प्रथम भएका थिए । उनले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्कार पाए ।

कार्यक्रममा नेपाल तरुण दल कास्कीका उपाध्यक्ष दीपक गुरुङले यूवाको जोश र जाँगरले चिप्ली गाउँ समृद्धीको बाटोमा लागेको बताए । उनले हालै सञ्चालित होम स्टे को प्रवद्र्धन गरेर स्वरोजगार सिर्जना गर्न आग्रह पनि गरे । उनले तरुण दल यूवालाई स्वरोजगार बनाउने अभियानमा लागेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

क्लवको सक्रियतामा गाउँका १० वटा घरमा होम स्टे सुरु गरिएको क्लवका अध्यक्ष विशाल गुरुङले जानकारी दिए । होमस्टेको उद्घाटन प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसी र काँग्रेस नेतृ सरस्वती गुरुङले गरेका थिए ।

तरुण दल कास्कीका सचिव नरेण थापाले बिकासको क्षेत्रमा चिप्ली गाउँ ओझेलमा परेको भन्दै स्थानीय क्लवसंग समन्वय गरि गाउँको बिकास गर्न तरुण दल तयार रहेको बताए ।

नेबिसंघ केन्द्रिय सदस्य भानु ढकालले गाउँवाट वसाईसराई दिनहुँ बढिरहेकोले चिप्ली गाउँमा यसलाई रोक्न सके बिकास र समृद्धीको आधार तयार हुने बताए । होम स्टे सञ्चालनका लागि गाउँलेलाई तालिम दिने र आवश्यक पूर्वाधार तयार गर्न आँफूहरु लागिरहेको क्लवका सचिव सन्तोष गुरुङले बताए ।