घरमा बाढी पसेपछि गाउँलेजति पोखरा एयरपोर्टमा धुरिए, तालाबन्दी गर्ने चेतावनी
पोखरा, जेठ २० ।
निर्माणाधीन पोखरा विमानस्थलको काम थाल्नुअघि त्यस क्षेत्रमा ४ वटा सिंचाई कुलो थिए । विमानस्थलको काम सुरु भएपछि ति कुलो थुनियो । अहिले पानीले निकास पाएन । एयरपोर्टको आधाजसो पानी स्थानीयको घरमा पसेको छ । यो समस्या २ बर्षअघि देखिको हो । ‘अलिअलि बर्षा हुने वित्तिकै एयरपोर्टको हिलो सोरिएर मान्छेका घरघरै बाढी पस्छ । २ बर्षदेखि यो समस्या भोगिरहेका छौं हामीले,’ छिनेडाँडाका लक्ष्मण कार्कीले भने, ‘आधाघण्टा पानी प¥यो भने अहिलेको बिजयपुर जत्रो खोलो हुन्छ । त्यत्रो भल घरभित्र पसेपछि हामी कसरी सुत्ने ?’
पटक पटक विमानस्थल निर्माण कम्पनीलाई जानकारी गराएपनि सुनुवाई नभएको उनले बताए । ‘हप्तैपिच्छे आएर भनेको छु । हुन्छ, गर्दिन्छु भन्छन्, फेरि उही ताल,’ उनी भन्छन्, ‘अव पनि पानीको निकास नदिए आयोजनामा तालाबन्दी गर्दिन्छौं । गेटमा धर्ना कस्छौं ।’ आफ्नो समस्या सुनाउने निकाय नपाएको उनी बताउँछन् । कार्कीले स्तरिय नहर बनाएर आकासको पानी थेग्ने गरि बिजयपुर खोलामा डाईभर्ट गर्नुपर्ने सुझाव दिए । स्थानीयले वडादेखि आयोजनासम्म तालाबन्दी गर्ने चेतावनी दिएका छन् । आयोजनाले बनाएको ड्रेन अहिले प्रयोग गरिएको छैन ।
विमानस्थल क्षेत्रको पानीले उपयुक्त निकास नपाउदा सीधै बस्तीमा पसेको हो । विमानस्थलको बाढीले ३० भन्दा बढी घर पीडित बनेको स्थानीय गनेश पौडेलले बताए । ‘पानी जाने बाटो नै छैन । यताबाट बग्ने पानी मान्छेको घरघरै बग्छ । निकास निकालिदेउ भन्दा सुनिदिने कोही भएन,’ उनले भने, ‘स्थानीयलाई लखेटेर बनाएको विकास काम छैन ।’ घरमा बाढी पसेपछि पोखरा १४ का स्थानीयले निर्माणाधीन विमानस्थलको कार्यालय घेराउ गरेका छन् ।
आइतबार वडाका जनप्रतिनिधि सहित घेराउ गर्न आईपुगेका उनीहरुले आयोजनाका प्रतिनिधिसँग भेटे । वडाध्यक्ष प्रेमबहादुर कार्कीले चाहीँ आयोजनाको बचाउ गरे । ‘काम नगरौं भन्ने पक्षमा वहाँहरु हुनुहुन्न । वडासँग पनि समन्वय हुन्छ । एकदुई पटक डोजर लगेर कुलो पनि बनाएको हो,’ उनले भने, ‘तर त्यो कुलो अग्लो भएछ । फेरि नयाँ बनाउन आग्रह गरौंला ।’
स्थानीयले अहिलेसम्म विमानस्थलले लिएको जग्गाको मुआब्जा पनि नपाएको गुनासो गरेका छन् । चलनचल्तीको भाउ नपाएको भन्दै छिनेडाँडाका अमृत कार्कीले ७ रोपनी जग्गाको मुआब्जा लिएका छैनन् । ‘मेरो जग्गाकै आडमा रोपनीको ४ करोड भाउ छ । मेरो जग्गालाई सरकारले २० लाख रुपैयाँ मुआब्जा तोकेको छ,’ उनले भने, ‘त्यति थोरै मुआब्जा लिएर म कहाँ जाउँ ? आयोजनाको नाममा उठिबास लाउन त मिल्दैन नि ।’ आफ्नो जग्गाको सट्टा जग्गा नै पाउनुपर्ने उनको माग छ ।
‘पहिले जग्गा नै दिन्छौं भनेका हुन् । त्यही भएर मुआब्जामा बोलिएन । अहिले आएर रोपनीको २० लाख दिन्छौं भन्छन्,’ कार्कीले दोहो¥याए, ‘त्यो २० लाखले पोखरामा १ बर्ष खान पनि पुग्दैन । जीन्दगी कसरी धानौं ?’ स्थानीय सँग समन्वय गरेर सबै जग्गाको समान मूल्य अनुसार मुआब्जा दिनुपर्ने उनको माग छ । दोश्रो चरणमा अधिग्रहण गरिएका जग्गाको ठाउँहेरी २० लाख, २९ र ४२ लाख रुपैयाँ प्रतिरोपनी मुआब्जा निर्धारण गरिएको थियो । केहीले मुआब्जा बुझेपनि अझै ३० रोपनी जति जग्गाको मुआब्जा लिएका छैनन् ।
‘राष्ट्रिय गौरवको आयोजना भनेर हामी केही बोलेनौं । पहिले संघर्ष समिति पनि बनाएको हो । यति ठूलो आयोजना विथोलिएला भनेर फिर्ता लियौं,’ अर्का स्थानीय टेकबहादुर कार्कीले प्रश्न गरे, ‘जनताको मर्का नबुझ्ने पनि गौरवको आयोजना हुन्छ ? हामी बस्न नपाए यो आयोजनाको के महत्व ?’ स्थानीयको सहजताका लागि विमानस्थल बाहिरबाट रिङरोड बनाउने भनिएपनि त्यो काम बीचैमा रोकिएको छ ।
बाटो नभए हिडडुल गर्नै समस्या भएको उनीहरुले बताए । आयोजना प्रमुख विनेस मुननकर्मीले चाहीँ समस्या समाधानको काम भैरहेको बताए । ‘तारबार बाहिरको काम गर्ने हाम्रो बाध्यता हैन । तर स्थानीयलाई मर्का पार्नुहुँदैन भनेर ड्रेन बनाउन लागेका छौं । एयरपोर्ट बनेपछि त कुनै समस्या नै हुँदैन,’ उनले भने, ‘उत्तर तिरबाट ड्रेन बनाएर दक्षिणतिर पानी नजाने बनाउन लागेका छौं । २ वटा पक्की सुरुङ बनाएर विजयपुर खोलामा लैजान्छौं ।’ उनका अनुसार ड्रेन बनाउन मात्रै ९ करोड रुपैयाँ लगानी हुँदै छ ।
स्थानीय डेलिगेसन आएपछि आईतबार देखि नै ड्रेन बनाउने काम थालिएको उनले सुनाए । पहिले माटो फिलिङ गरेर भित्रपट्टी छुट्टै नाला बनाउने उनको भनाई छ । विमानस्थल निर्माणका लागि २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अपुग भएको भन्दै पछि ६ सय २९ रोपनी जग्गा अधिग्रहण भएको थियो । सन् २०२० भित्रै सञ्चालनमा ल्याउने गरि विमानस्थलको काम तीब्र पारिएको छ । धावनमार्ग निर्माणको काम सकिएको छ भने टावर निर्माण तीब्र भैरहेको छ ।