गोरखाकी गंगामायालाई सरकारले दियो एक करोड
काठमाण्डौं, साउन ८ ।
छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको कान्तिपुरमा खबर छ ।
गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो । यस अवधिमा जम्मा हुन आएको १९ लाख ६३ रुपैयाँ ब्याजसमेत सरकारले गंगामायाको खातामा राखिदिएको छ । अनशन बसेको ३ सय ३४ दिनका दिन २०७१ असोज ६ गते पति नन्दपसाद अधिकारी बितेपछि गंगामायासँग सरकारले ५ बुँदे सम्झौता गर्दै अनशन तोडाएको थियो ।
५ बुँदे सम्झौतामा घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरी जेल चलान गर्नुपर्ने, फरार भई उत्तरी आयरल्यान्डमा बस्दै आएका अर्का मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही गर्नुपर्ने, गंगामायाको जीवन निर्वाहका लागि सरकारले १ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने, नन्दप्रसादको सद्गत गर्ने र गंगामायाले अनशन तोड्ने सम्झौता तत्कालीन कानुनमन्त्री नरहरि आचार्यले गरेका थिए । तर, सरकारले कुनै पनि सम्झौता पालना नगरेको भन्दै गंगामाया गत जेठ १५ गते पुनस् आमरण अनशनमा बसेकी थिइन् ।
उनको स्वास्थ्य क्रमशस् कमजोर हुँदै गएपछि हत्याका मुख्य अभियुक्तमध्ये छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि सरकारले बाँकी सम्झौता पनि पूरा गर्ने अर्को सम्झौता गरेर गंगामायाको अनशन तोडाएको थियो ।