गाउँपालिकाका अध्यक्ष र सांसद उम्मेदवारद्धारा नेकपा परित्याग

बुटवल, फागुन २६ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा परित्याग गरेका छन् । गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४(क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक हजार कार्यकर्तासहित पार्टी परित्याग गरेको दावी गरेका छन् । उनीहरु श्रीमान–श्रीमती हुन् ।

मर्चवारस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरी अध्यक्ष शुक्ला र पल्लवीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उक्त क्षेत्रबाट प्रदेशसभामा भने नेपाली कांग्रेसका अष्ठभुजा पाठकले चुनाव जितेका थिए । स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनअघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुलाई तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी प्रवेश गराएका थिए । प्रदेश ५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आफ्नो सहमति विपरीत ‘भ्रष्ट’ कर्मचारी मुस्लिम खान र प्रमिला सिंहलाई राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

पार्टीले वडा कमिटी गठन गर्दासमेत आफूसँग छलफल नगरेको उनले बताए । नेकपा परित्याग गरेपनि कुन दल प्रवेश गर्ने भन्ने तत्काल निर्णय नगरेको उनले बताए ।