गण्डकी सरकारको पहिलो काम–गोरखामा बन्यो खानेपानी आयोजना
गोरखा, माघ २९ ।
गण्डकी सरकारले पहिलो योजना पूरा गरेको छ । सरकार गठन भएको झण्डै १ बर्ष पुग्न लाग्दा सरकारले करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना पूरा गरेको हो । गोरखाको भीमसेन थापा गाउँपालिका १ निवेलमा निर्माण गरिएको खानेपानी आयोजनाको मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री बस्नेतले दुई वर्षभित्र गण्डकी प्रदेशको सबै घरमा खानेपानी पुर्याउने दावी गरे । ‘प्रदेश सरकारले के काम गर्छ भन्दै संघ र स्थानीय तहलाइ मात्र महत्व दिन्थे,’ उनले भने, ‘हामीले काम गर्न सुरु गरिसकेका छौं, अवको दुई वर्षभित्र सबैको घरमा धारा जडान गरेर खानेपानी पुर्याउँछौ ।’
सरकार गठन भएको पाँच वर्षभित्र प्रत्येक घरमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने र २ बर्षभित्रै सबैको पहुँचमा खानेपानी विस्तार गर्ने सरकारको लक्ष्य छ । कुल ५९ लाख ५३ हजार लागतमा निर्माण भएको उक्त आयोजनाबाट ४५ घरधुरी लाभान्वित छन् ।
यसअघि रहेको खानेपानी आयोजना भूकम्पले क्षति पुगेपछि स्थानीयलाई पानीको समस्या भएको थियो । आयोजना बनेर घरमै पानी आउन थालेपछि स्थानीय खुशी छन् । करेसावारीमा तरकारी लगाउन समेत सहज भएको स्थानीयले बताए । यही मंसिर १ गते सम्झौता भएको उक्त आयोजना फागुन २८ गते सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बानियाले बताए ।