गणतन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीसँगै विप्लव समूहका नेताहरू पनि सम्मानित हुने

काठमाण्डौं, जेठ १३ ।
सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा २ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।

गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान र्पुयाए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

विभूषित हुनेहरुको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम छ । यस्तै, दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओली, तेस्रोमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पाँचौमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ ।

त्यसपछि नौ जना पूर्वप्रधानमन्त्रीहरूको नाम राखिएको छ । जसमा क्रमशः लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नाम छ ।

बहालवाला मन्त्री, मुख्य मन्त्री, पूर्व मन्त्रीदेखि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश गरी ४५ जनाको नाम वरियताअनुसार राखिएका छन् । त्यसपछिका नामहरू भने वर्णानुक्रममा छन् ।