गगनले सोधे–सदनमा पटकपटक मेरो माइक किन काटिन्छ ?

काठमाण्डौं, पुस १३ ।
प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन् । ‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो । तर, सभामुखले ३ मिनेट समय दिएर बोलाउनु भयो । तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन । पटकपटक माइक किन काटिन्छ ?’

कांग्रेस नेता तथा सांसद थापाले आफूलाई बोल्न दिइएको समयअघि नै माइक काटिएको बताएपछि हामीले सदनको भिडियो रेकर्ड र्हेयौं । शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका रहेछन् । १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको रहेछ ।

सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए । कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका छन् ।

‘बीचमै माइक काटिएको प्रति आपत्ति जनाएपछि सभामुखबाट मैले संसदको घडी बिग्रिएको जवाफ पाएँ’, कांग्रेस सचेतक खाँडले भने, ‘समय कटौती गरिने कुरा आपत्तिजनक छ ।’

बैठकमा कांग्रेसका तीन सांसदले बोल्नका लागि १२ मिनेट छुट्याइएको थियो । कार्यव्यवस्था समितिमा भएको समहमतिका आधारमा कांग्रेस नेता थापालाई बोल्नका लागि सभामुखले ४ मिनेट छुट्याएर बोलाएका थिए ।

थापाले बैठकको विशेष समयमा कर्मचारी समायोजन अध्यादेशका बारेमा आफ्ना विचार राख्दै थिए । तर, छुट्याइएको ४ मिनेट नदिएर झन्डै २ मिनेट ३० सेकेन्डमा आफ्नो माइक अवरुद्ध गरिएपछि उनले असन्तुष्टि जाहेर गरेका हुन् । ‘दिएको समय कसैको पनि कम गर्न पाइँदैन । विषय हेरेर बरु १० सेकेन्ड जति थपिन्छ’, उनले भने, ‘मैले बालकृष्ण ढुंगेलको विषयमा बोल्ने क्रममा पनि २ः३० मिनेटमै काटिएको थियो ।’