क्रसर उद्योग अनुगमन गर्न टोलि
पोखरा, चैत ९ ।
अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशित भएपछि पोखरा लेखनाथ महानगरपालिकाले क्रसर उद्योगको अनुगमनका लागि टोलि खटाएको छ । विहिबार ईन्जिनियर जगन्नाथ कोइराला सहितको टोलिलाई अनुगनमका लागि खटाईएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए । उनका अनुसार शुक्रबार नै टोलिले महानगरलाई प्रतिबेदन बुझाउने छ । ‘महानगरबाट क्रसर उद्योग चलाउने स्विकृति दिएकै छैनौं । अबैध रुपमा क्रसर चलेको थाहा पाएपछि अनुगनमा लागि तत्कालै पठाएका छौं, उनले भने–रिपोर्ट आएपछि अगाडीको कारबाही सुरु हुन्छ । शुक्रबार रिपोर्ट आउँछ ।’
पोखरा १, १४ र २१ मा उद्योग सञ्चालनको मापदण्ड नपु¥याई क्रसर चलाईएको छ । आयोजनाका लागि भन्दै चलेका उद्योगहरु सम्बन्धित निकायमा दर्ता गरिएका छैनन् । उद्योग सञ्चालनका लागि महानगरपालिकाले वातावरणीय प्रभाव मुल्याकंन गरेर अनुमति दिनुपर्छ । तर हाल चलेका उद्योगहरु वडा कार्यालयको सिफारिसमा मात्रै स्थापना भएका हुन् । पोखरा १ सिम्पानीको डिलमा सिञ्चाईं आयोजनाले सेतीमा ड्याम निर्माणको प्रयोजनका लागि क्रसर चलाएको हो भने वडा १४ बाच्छिबुडुवाको क्रसर पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका लागि खोलिएको हो । उता २१ नम्बरमा भने बाटो ग्राभेल गर्नका लागि क्रसर राखिएको जनाईएको छ ।