क्रसरमा कडा बन्यो महानगर
प्रकाश ढकाल
पोखरा, चैत १९ ।
मापदण्ड नपु¥याई चलाईएका पोखराका क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गरेको छ । अनुमति प्रक्रिया नै नमिलेको भन्दै महानगरले प्रहरीको सहयोगमा क्रसर उद्योगको चावि जफत गरेको हो । वडा कार्यालयका सामान्य सिफारिसका भरमा यहाँका क्रसर सञ्चालन भएका थिए । वडा नम्बर १ र २१ का क्रसर उद्योगबाट चावि नियन्त्रणमा लिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए । उनका अनुसार दुवै क्रसरको अनुमति प्रक्रिया गलत छ । वडा नम्बर १ जौवारीको क्रसर उद्योगले अनुमति पनि नलिएको पौडेको भनाई छ । २१ नम्बर वडा दोविल्लामा चाहीँ जिल्ला प्राविधिक कार्यालय र वडा कार्यालयबाट सामान्य सिफारिस लिएको छ । ‘जौवारीले कतैबाट पनि स्विकृति लिएको देखिएन । दोविल्लाको पनि वडा कार्यालय र समन्वय समितिको सामान्य सिफारिस छ, उनले भने–प्राविधि कार्यालयले सिफारिस दिन मिल्ने कि नमिल्ने हामी हेर्दैछौं । क्रसर उद्योग अनुमति विधि अनुसार छैन । हामी कारबाही गर्छौं ।’ बिज्ञसँग कानुनी सुझाव लिईरहेकाले केही दिनमै थप कारबाही अगाडी बढ्ने पौडेलले जानकारी दिए । वडा नम्बर १४ को बाच्छिबुडुवाको क्रसरलाई पनि निर्माण रोक्न महानगरले निर्देशन पठाएको उनले बताए । ‘निर्माण नै रोक्न भनेका छौं । बनिहालेपनि सञ्चालन गर्न मिल्दैन, पौडेल भन्छन्–क्रसर राख्ने मापदण्ड हुन्छ । मापदण्ड पु¥याएर मात्रै स्विकृति लिनुपर्छ ।’ उनका अनुसार हालसम्म महानगरपालिकाबाट कुनैपनि क्रसर उद्योगले सञ्चालन अनुमति लिएका छैनन् ।
‘हामी क्रसर सञ्चालनको अनुमति दिने पक्षमा छैनौं । पहिले अध्ययन गरेर बोलकबोलका आधारमा मात्रै क्रसर राख्ने स्विकृति दिन्छौं, उनी भन्छन्–यसका लागि आवश्यक तयारी भैरहेको छ । त्यतिबेलासम्म कसैले पनि क्रसर राख्न पाउँदैनन् ।’ तर सञ्चालित क्रसर उद्योगमा महानगर र जिल्ला समन्वय समितिको सिफारिस छन् । जौवारी र बाच्छिबुडुवाको सिफारिसमा पौडेल आफ्नै हस्ताक्षर छ । अर्कै प्रयोजनका लागि भनेर स्विकृति दिएपनि गलत प्रयोजनमा स्विृकतिपत्रको प्रयोग गरिएको उनले बताए । जौवारीमा सिञ्चाईंको सिफारिसबाट निर्माण सामग्री उत्खनन्को मात्रै स्विकृति गएको छ भने बाच्छिबुडुवामा खेतियोग्य जमिन सम्याउने स्विकृति छ । जौवारीको क्रसरले महानगरबाट तोकिएभन्दा ४ हजार घनमिटर बढी निर्माण सामग्री उत्खनन् गरिसकेको प्राविधिकको रिपोर्टमा उल्लेख छ । नियमभित्र नआएसम्म नियन्त्रणमा लिएको चावि फिर्ता नहुने पौडेलले बताए । सञ्चालकहरुले चाहीँ आधिकारिक निकायबाट स्विकृति लिएरै उद्योग चलाएको बताए । ‘राज्यको एउटा निकायले सञ्चालन अनुमति दिन्छ । अर्कोले आएर रोक्छ, दोविल्लामा रहेको क्रसरका सञ्चालक चिरञ्जिवी पोख्रेलले भने–थाहै नदिई चावि खोस्नु गलत हो । हामीलाई अन्याय भयो ।’ उद्योग बन्द हुँदा परेको नोक्सानी महानगरले ब्यहोर्नुपर्ने उनको दावी छ । पोख्रेलका अनुसार महानगरकै अनुमतिले निर्माण सामग्री निकालेर क्रसर राखिएको हो । उद्योगले गिटी प्रशोधन गरेर कृष्ति, निर्मलपोखरी, भरतपोखरी सडक आयोजनामा प्रयोग गर्दै आएको पोख्रेल बताउँछन् । महानगरपालिकाले क्रसर उद्योगको अध्ययन गर्न महानगरबाटै प्राविधिक खटाएर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा तोकिएभन्दा बढी निर्माण सामग्री निकालिएको, उद्योग सञ्चालन मापदण्ड नपुगेको जस्ता बुँदा उल्लेख छ ।
नयाँ संरचनामा घाटगद्दी सञ्चालनको अधिकार स्थानीय तहलाई छ । तर वडा कार्यालयले यसको अनुमति दिने अधिकार छैन । गैरकानुनी हिसावले सञ्चालित सबै उद्योग बन्द हुने महानगरपालिकाले जनाएको छ । नदीको अधिक दोहन भएपछि सरकारले क्रसर उद्योगलाई कडाई गरेरै नयाँ मापदण्ड बनाएको थियो । तर मापदण्ड हालसम्म पनि कार्यान्वयनमा आएको छैन । मापदण्ड नमानेपछि केही उद्योगको नविकरण नै नगरेको सरकारले नयाँ उद्योग मापदण्ड नपुगेको ठाउँमा चलाउन चाहीँ धमाधम स्विकृति दिएको छ । यसले झनै दोहन बढाउने सरोकारवालाहरु बताउँछन् । पोखराको सेती नदी यसैपनि बढी जोखिमको मानिन्छ । दोविल्ला क्षेत्रमा बस्ती नै जोखिममा परेपछि संरक्षणको अभियान पनि चलिरहेका छन् । मापदण्ड मिचेर उद्योग चलाएपछि केही ब्यवसायीले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गरेका थिए । उजुरीपछि प्रशासनले समेत चासो लिएर क्रसरको चावि नियन्त्रणमा लिने काम भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । ‘सबै जिम्मेवारी नगरपालिकाको हो । हामीसँग उजुरी परेपछि जवाफ मागेका थियौं, उनले भने–अहिले धमाधम अनुगमन भैरहेको छ । आवश्यक सुरक्षा चाहिए हामी सहयोग गरौंला ।’ विधि विपरित काम हुन नदिने उनको भनाई छ ।