कास्कीको उपनिर्वाचन–रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने ?

पोखरा, चैत १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त नगरेको बतार्ईएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको १ महिना पूरा भैसकेपनि प्रधानमन्त्री अहिले नै पर्यटन मन्त्री नियुक्त गर्ने पक्षमा छैनन् । १५ फागुनमा ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

प्रधानमन्त्री ओलीले तत्काल यो मन्त्रालयमा नियुक्त नगर्ने, केही समय यो मन्त्रालय आफू मातहत राख्ने धारणा सार्वजनिक गरेको बताइन्छ । तर रवीन्द्रको निधनपछि खाली रहेको यो मन्त्रालयलाई लामो समय राजनीतिक नेतृत्वविहीन बनाउने पक्षमा भने ओली छैनन् ।

रवीन्द्रले गत निर्वाचनमा विजय हासिल गरेको कास्की–२ को प्रतिनिधिसभा र नेपालका अन्य प्रदेश सांसदहरूको मृत्युका कारण खाली रहेका दाङ–३ (ख), भक्तपुर ‘क’ र बाग्लुङ–२ (ख) को उपनिर्वाचनपछि मात्र पर्यटन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने ओलीको योजना छ ।

स्रोतका अनुसार पर्यटन मन्त्रालयमा तत्काल नयाँ मन्त्री नियुक्त गर्न प्रम ओलीले नचाहनुको कारण सही उत्तराधिकारीको छनोटका लागि हो । जसरी स्व. अधिकारीको निधनपछि खाली हुन पुगेको कास्की–२ मा सही उत्तराधिकारी उनकै परिवारका कुनै सदस्यलाई हेरिँदैछ, प्रधानमन्त्री ओली पनि पर्यटन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्दा रवीन्द्रकै सही उत्तराधिकारी हुने सन्देश दिन चाहिरहेका छन् ।

रवीन्द्रको निधनपछि कास्कीको सोही निर्वाचन क्षेत्रमा नेकपा वरिष्ठ नेता वामदेव गौतमलाई सम्भाव्य उम्मेदवारको रुपमा हेरिएको थियो । तर, गौतम आफैले सो निर्वाचन क्षेत्रमा स्व. रवीन्द्रकै परिवारको कुनै सदस्यलाई उम्मेदवार बनाइनुपर्ने सार्वजनिक प्रस्ताव गरिसकेका छन् । त्यसो हुँदा रवीन्द्रको सम्मान हुने र उपनिर्वाचनमा विजय हासिल गर्न पनि सहज हुने विश्वास छ ।

गत निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार भन्दा बढी मतान्तरका साथ पराजित गर्दै रवीन्द्र विजयी भएका थिए । प्राध्यापन छाडेर उम्मेदवार बनेका चालिसे पनि लोकप्रियता र व्यक्तित्वका दृष्टिले राम्रो र बलियो उम्मेदवार थिए । गत चुनावमा वाम गठबन्धनको जस्तो लोकप्रियता थियो, त्यस्तो लोकप्रियता अहिले भने निकै कम भएको छ । खाली रहेको सो निर्वाचन क्षेत्रमा कांग्रेसले फेरि चालिसेलाई नै अघि सार्न सक्ने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनले भने, ‘पार्टीको लोकप्रियता गत निर्वाचनका बेला भन्दा अहिले निकै बढेको छ । कांग्रेसले चालिसेलाई नै उम्मेदवार बनाए राम्रो हुन्छ ।’ कास्कीमा नेकपा पंक्तिले स्व. रवीन्द्रकी जीवन संगीनि विद्या भट्टराईलाई उत्तराधिकारीको रुपमा हेरेको छ । वैवाहिक जीवनमा बाँधिनु अघि विद्यार्थी राजनीतिमा क्रियाशील विद्या विहेपछि रवीन्द्रको राजनीतिक जीवनलाई अप्ठ्यारो नपरोस् भनेर राजनीति छाडी प्राज्ञिक काममा लागेकी थिइन् । उनी अहिले समाजशास्त्रकी उपप्राध्यापक हुन् ।

मन्त्री पद खाली राख्ने र उता कास्की–२ मा उम्मेदवार बनाउने हो भने नेकपा नेता–कार्यकर्तालाई ‘उनी (विद्या) पक्का मन्त्री बन्नेछिन् । उनकै लागि प्रम ओलीले रवीन्द्रको निधनपछि पनि सो मन्त्रालयमा मन्त्री नियुक्त नगरिएको भन्दै प्रचारमा जान सहज हुन्छ । तर, ओलीले रिक्त मन्त्रालयमा अहिल्यै मन्त्री नियुक्त गरिदिए भने ‘विद्या मन्त्री बन्ने’ प्रचार निष्प्रभावी भइदिन सक्छ । तर, यसको मतलव यो होइन कि, केवल कास्की–२ मा हुने उपनिर्वाचन परिणाम हात पार्नमात्र प्रम ओलीले पर्यटन मन्त्रालय खाली राखेका हुन् ।’ यो चुनावी शैली उनले योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पनि अपनाएका थिए । योगेशलाई जिताए मन्त्री बनाउने बचन दिएका प्रधानमन्त्रीले योगेशलाई मन्त्री बनाएका छैनन् । कास्कीमा पनि त्यही घटना दोहोरिने सम्भावना रहेको बताईन्छ ।