कारागारभित्रै जुवा अखडा काण्ड–चौकीदारसहित ५ कैदीको सरुवा
काठमाण्डौं, पुस १ ।
सिन्धुपाल्चोक कारागार नै जुवा अखडा बनेकोबारे समाचार प्रकाशन गरेपछि कारागार व्यवस्थापन विभागले ५ जना कैदीको सरुवा गरेको छ । कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा जेल परेका चौकीदार गणेश लामिछाने र जबरजस्ती करणी मुद्दामा जेल परेका भिम तिमल्सिनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जेलर यादव आचार्यले बताए ।
३ जना कैदीलाई भने जिल्ला कारागार काभ्रे पठाइएको छ । कर्तव्य ज्यान र नागरिकता किर्ते मुद्दाको सजाय काटिरहेका लाक्पा तामाङ, वाङ्दोर्जे लामा र विनोद कोइरालालाई भने धुलिखेल कारागार पठाइएको छ । कारागारका चौकीदार गणेश लामिछानेले अन्य कैदीसँग मिलेर कारागारभित्रै जुवा खेलाउने, मादक पदार्थ बेच्ने, कैदीले मोबाइल बोक्ने, कैदीले पाउने सिदामा समेत शोषण गर्ने लगायतका कामहरु गर्ने गरेका थिए ।
समाचार प्रकाशन भएपछि कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको थियो । समितिकै प्रतिवेदनअनुसार उनीहरुलाई सरुवा गरिएको हो ।