कानुनमन्त्रीको विरोधमा पोखरामा महिला संघको प्रदर्शन (फोटोमा हेर्नुस्)

पोखरा, साउन ७ ।
कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट निस्किएको ¥याली विपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानुनमन्त्रीको अभिब्यक्ति गैर जिम्मेवार भएको टिप्पणी गरे । ‘दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप लगाउनु गम्भीर बिषय हो । त्यसमाथी मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य लिनु हुँदैन, उनले भने–मन्त्री नै भएपनि गलत अभिब्यक्ति दिनेलाई कारबाही गर्नुपर्छ । सरकार त्यसका लागि तयार हुनुपर्छ ।’ मन्त्रीसँगै बि एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंलाई पनि कडा कारबाहीको माग गर्दै उनले गोविन्द केसीको जीवनरक्षाको माग गरे । ‘नेपाली जनताको हितका लागि गरेको आन्दोलनमा सरकारले पनि सहयोग गर्नुपर्छ । उल्टो प्रतिपक्षीलाई आरोप लगाएर उम्किन मिल्दैन, उनले थपे–केसीका माग तत्काल पूरा होस् । वहाँको जीवनरक्षाको माग गर्दछु ।’
दुर्गा प्रसाईंले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुप्रति आपत्तिजनक आपत्ति दिएको भन्दै देशब्यापी विरोध भैरहेको छ । कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य तारा अधिकारी, महिला संघकी जिल्ला सचिव सीता गुरुङ, नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल लगाएतले बोलेका थिए ।
महिला संघ पोखरा महानगर समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रम विमला भण्डारीले सञ्चालन गरेकी थिईन् । बर्तमान सरकार जनताप्रति अनुदार हुँदै गएको भन्दै बरालले जतिसक्दो छिटो डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरिन् । उनले सरकारको गतिविधि नसच्चिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिईन् ।
यसैबीच, महिला संघले जिल्लाभरी गोविन्द केसीको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने तयारी गरिरहेको महिला संघ पोखरा नगरकी सल्लाहकार सरस्वति गुरुङले जानकारी दिईन् । ‘गोविन्द केसीका माग जनपक्षीय छन् । उनको मागमा सरकार गम्भीर हुनैपर्छ, उनले भनिन्–माग पूरा नभए देशब्यापी आन्दोलन चर्किन्छ । कास्कीले नेतृत्व लिन तयार छ ।’ उनले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न सबै तयार हुनुपर्ने बताईन् ।
Photo-dna nepal