कात्तिक अन्तिम सातादेखि नेपालीका लागि मलेसियामा रोजगारी खुल्ने

काठमाण्डौं, कार्तिक ९ ।
नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा मलेसियासँग आगामी कात्तिक १२ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन् ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द भएको मलेसियामा नेपालीका लागि रोजगारी खुल्ने भएको छ । दुई देशबीच सरकारीस्तरमा कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपाली युवालाई मलेसियाका लागि श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

ड्राफ्टमा उल्लेख गरिएका वस्तुगत विषयमा प्राविधिक कमिटीका प्रतिनिधिले छलफल गर्नुपर्ने भएकाले कात्तिक अन्तिम सातादेखि मात्र श्रम स्वीकृति जारी गरिने मन्त्रालयले जनाएको छ । मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत भदौ महिना एमओयूको मस्यौदासहित प्रस्ताव नेपाल पठाएको थियो ।

मस्यौदाको ड्राफ्टसहित नेपालका तर्फबाट पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो । मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुनःदोस्रो पटक ड्राफ्ट पठाइएको हो । गत असोज दोस्रो साता मलेसियामा दुवै देशका प्रतिनिधिले ड्राफ्टमा हस्ताक्षर गरेको थिए ।

मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका कामकारबाही बन्द गर्ने निर्णय गरेको थियो ।