कांग्रेस नेता पौडेलविरुद्ध उजुरी
काठमाण्डौं, कार्तिक १३ ।
आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् ।
सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा माग बमोजिमको सूचना उपलब्ध नगराएको आरोप छ । पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष विसं २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएको बताईएको छ ।
सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । उनले उम्मेदवार छनौटका आधारबारे सूचना मागेका थिए ।