काँग्रेस सभापति देउवालाई कारबाहीको माग गर्दै महासमिति सदस्य बजगाईंको उजुरी

काठमाण्डौं, चैत १४ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाहीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा कांग्रेसका महासमिति सदस्य समेत रहेका गोरखाका राजेन्द्र बजगाईंले देउवाले बारम्बार पार्टीको हित विपरित काम गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।

‘नेपाली कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाल कम्युनिष्ट पार्टीको सम्माननीय खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ?’ बजगाईंले दर्ता गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

यसबाट संसदीय मयार्दामा चोट मात्र पुगेन कि सिंगो पार्टीको साख गिरेको बजगाईंको भनाई छ । उजुरीपत्रको अन्त्यमा लेखिएको छ – ‘यसकारण माननीय श्री शेरबहादुर देउवामाथि नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको कारवाही गरियोस् भनी माग गर्दछु ।’

समितिले गत मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीमा अनुशासन विपरित काम गर्नेहरुको सूची मागेको थियो । कांग्रेसले ३ वर्षपछि चैत ४ गते भीष्मराज आङदम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो ।