काँग्रेस नेता भण्डारी भन्छन्–राजतन्त्र फाल्नु दुर्भाग्य

पोखरा, असोज १० ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले राजतन्त्र फालिएकोप्रति सन्तुष्ट नरहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले घुमाउरो हिसावले राजतन्त्रको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘जव राष्ट्रियताका कुरा आउँथ्यो काँग्रेस राजासँग नजिक हुन्थ्यो । लोकतन्त्रमा समस्या आयो भने कम्युनिष्टलाई साथमा लिन्थ्यो, उनले भने–राजतन्त्र सकिएपछि अहिले काँग्रेस र कम्युनिष्टको दुई धार छ । राजतन्त्र फालेको प्रति मेरो असन्तुष्टी छ ।’ उनले नेपाली जनताले निर्णय गरे देशमा राजतन्त्र फर्किन सक्ने संकेत गरे ।

केन्द्रिय सदस्य समेत रहेका भण्डारीले संघीयता कार्ययोजना विहिन हिसावबाट आएकोले कार्यान्वयनमा चुनौति देखिएको गुनासो गरेका छन् । ‘पार्टीले आधिकारिक निर्णय गरेकोले म संघीयताकै पक्षमा छु । तर नेपाली काँग्रेस वा नेकपा कसैले पनि तयारीले यो संरचना ल्याएका होईनन्, उनी भन्छन्–संघीयता कार्यान्वयनको कुनै कार्ययोजना छैन । जवरजस्ती निर्णय गराईएको हो । त्यसैले समस्या आईरहेको छ ।’

उनले पार्टीभित्र काँग्रेसभन्दा नेताका पछि लागेर निर्णय गर्दा काँग्रेसलाई समस्या परिरहेको बताएका छन् । नेता भण्डारीले पार्टीभित्रका युवा नेताहरु योगदानभन्दा बढी लाभमा केन्द्रित भएको आरोप लगाए । ‘कसले कति योगदान दियो त्यो सबैलाई थाहा छ । पार्टीमा लागेर कति फाईदा लियो भन्ने पनि हिसावकिताव छ, उनले भने–योगदानभन्दा धेरै लाभ लिनेहरु धेरै भए । यसले पार्टीलाई समस्यामा पारेको छ ।’

उनले सरकारका गतिविधीबारे पनि कटाक्ष गरेका छन् । ‘सरकार आलोचनाका लागि पनि लायक छैन । जनताबाट पूर्ण अनुमोदित दलबाट बनेको सरकारले किन देशलाई आर्थिक समृद्धीको बाटोमा लैजान सकेन ? शान्ति सुरक्षा खै ?, उनी भन्छन्–जताततै बलात्कार, हत्या हिंसा बढिरहेको छ । यसलाई रोक्ने सरकारको स्पष्ट कार्ययोजना के हो ? निर्दोषलाई पक्राउ गरेर हत्यारा साविक गर्न खोज्दैछ सरकार ।’

भण्डारीले सिके राउतलाई सरकारले नै प्रश्रय दिईरहेको बताए । ‘सिके राउत को हो ? कहाँबाट आयो, उनले थपे–देश टुक्र्याउनुपर्छ भन्ने अधिकार कसले दियो र राज्य के हेरेर बसिरहेको छ ? कारबाही गर्न किन सकिरहेको छैन ?’ उनले काँग्रेस विधान संशोधनको चरणमा रहेकोले आगामी कार्यदिशा सहित सुझाव दिन आग्रह गरेका छन् ।