काँग्रेस कार्यालयमै नेविसंघ कार्यकर्ताबीच झडप

काठमाण्डौं, फागुन १२ ।
नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।

स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् । हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।

कसरी भयो झडप ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा तय भएको थियो । बैठकमा सहभागि हुन आउने नेताहरुलाई नेविसंघ सुनिश्चितता र ३२ वर्षे उमेर हद लागू गर्दै तदर्थसमिति बनाइनुपर्ने दवाव दिँदै आएको सिटौला समूहका विद्यार्थी नेताहरु धर्नाका लागि सानेपा पुगेका थिए ।

यस्तै सो समूहलाई काउन्टर दिनेगरी संस्थापन निकटका शाही नेतृत्वको समूह पनि आइतबार पार्टी कार्यालय पुग्यो । भट्ट र शाही नेतृत्वको दुई गुटका नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा पक्षविपक्षमा प्रदर्शन भइरहेको बेला एकाएक इट्टा हानाहान हुन पुगेको एक विद्यार्थी नेताले जानकारी दिए ।

ती नेताका अनुसार सिटौला पार्टी कार्यालय प्रवेश गर्दा शाही समूहले उनीविरुद्ध चर्को नाराबाजी गरेको थियो भने सभापति शेरबहादुर देउवार विमेलेन्द्र निधि आउँदा भट्ट नेतृत्वको समूहले नाराबाजी गरेको थियो । भट्ट समूहले देउवाविरुद्ध नाराबाजी गर्दै गर्दा भीडबाट ढुंगा समेत प्रहार भएपछि दुई पक्षबीच एकाएक ढुंगा हानाहान हुन पुगेको थियो ।

त्यसपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा लाठीचार्ज गर्दा एक दर्जनको हाराहारीमा नेविसंघका कार्यकर्ता घाइते भएको बताइएको छ । घाइते हुनेमा दीपेन्द्र क्षेत्री, अर्वत खड्का लगायत रहेका छन् ।

नेविसंघका नेता निरञ्जन थापाले आफूहरु शान्तिपूर्ण धर्नामा रहेकै बेला अर्को समूहले बखेडा झिकेपछि घटना हुन पुगेको बताए । झडपछि सानेपामा अहिले व्यापक संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।