काँग्रेस कार्यकर्तासँग माफी माग्न आएको छ, एक पटक विश्वास गर्नुस्–जोशी (अन्तबार्ता)

पोखरा, जेठ १३ ।
नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी कार्यक्रम भैरहेका छन् । कास्की जिल्लामा पनि अहिले जागरण अभियान चलिरहेको छ । खासगरि नयाँ खाका सहित कार्यक्रम गरिरहेको काँग्रेसको आगामी कार्यदिशा कस्तो रहला ? जागरण अभियान लिएर कास्की छिरेका काँग्रेस केन्द्रिय सदस्य अर्जुन जोशीसँग डिएनए नेपालका सम्पादक प्रकाश ढकालले कुराकानी गरेका छन् । प्रश्तुत छ, सोही कुराकानीको सम्पादित अंश–

अहिले नेपाली काँग्रेस जागरण अभियानमा छ । यसको खास कारण केही छ ?

नामबाटै पनि धेरै कुरा स्पष्ट छ । खासगरिकन स्थानीय तहको निर्वाचन र दुई तहको संसदीय निर्वाचनमा पराजय भयो । पराजय पश्चात कार्यकर्तामा निराशाजस्तो, कमजोर मनोवल जस्तो, निश्क्रियता जस्तो, केही कुण्ठाहरु, केही आक्रोशहरु सबै कुरा देखिए । त्यसैले काँग्रेसभित्र नै जागरण ल्याउनका लागि हो । एउटा प्रजातान्त्रीक पार्टीले हार हुँदैमा सबै कुरा सिद्धियो भन्ने होईन । लोकतान्त्रीक पार्टी भनेको उ हार्न पनि सक्छ, जित्न पनि सक्छ भन्ने हो । त्यो कुरा अलि अभ्यास नभएर हारले हामीलाई निराशाजनक बनायो । त्यसैले उत्साह पैदा गर्नका लागि जागरण अभियान चलाएका हौं ।

जागरण अभियानमा कार्यकर्तालाई के भन्नुभएको छ ?

हामीले हिजो नेतृत्व तहदेखि कार्यकतासम्मले जे जति कमीकमजोरी गर्यौं, अव त्यो गल्ती कमजोरी हुँदैनन् । हामी क्षमा याचना गर्छौं । हामी अव सुध्रिन तयार छौं, सच्चिन तयार छौं, भन्ने सन्देश गाउँघरसम्म पुर्याउने । अनि निर्वाचन पछि के कारणले चुनाव हार्यौं । कमजोरी के रहे ? आगामी दिनमा कार्यकर्ता र आम मतदाताले काँग्रेससँग के अपेक्षा गर्नुभएको छ ? लगायत एउटा प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारले गरेका कामबारे सचेत गराउन पनि जागरण अभियान महत्वपूर्ण छ । हामीले यही सन्देश दिईरहेका छौं ।

सरकारका कामबारे जनतालाई सचेत गराउन पनि जागरण अभियान भन्नुभयो, सरकारले के त्यस्तो काम गरेको छ र काँग्रेसलाई चित्त बुझेन ?

सरकारको यो विगतको १४ महिनाको अवधीमा हामीले जे सोचेका थियौं, त्यो सरकारले गरेन । दुई तिहाईको सरकार बनिसकेपछि मुलुकको समृद्धी, शान्ति सुरक्षाका लागि, मुलुकको आर्थिक बृद्धीका लागि जुन खालको दह्रो अडानको साथ काम गर्छ भन्ने लागेको थियो । सरकार चुकेको छ । मुलुकमा झन् हिंसाका घटना बढ्न थाले । हत्याका घटना बढ्न थाले । महंगी चरम अवस्थामा छ । ठूला ठूला भ्रष्टाचार काण्ड भए । मुलुकले कहिलै नसुनेका वाईडवडी केश, बुढी गण्डकी, प्रधानमन्त्री निवासको जग्गा प्रकरण सामान्य होईन । नियोजित रुपमा सरकारले नियमन गर्ने नाममा जनताले यति ठूलो आन्दोलन गरेर प्राप्त अधिकार कुण्ठित गरेको छ । यस्ता कुरालाई खवरदारी गर्ने र जनतालाई सुसुचित गर्ने हो । जागरण अभियानमा दुईवटा मुद्धा छ । एउटा, हामीभित्रको आन्तरिक संगठन सुदृढीकरण र अर्को सरकारले गरेका गलत कुरालाई जनतासामू लैजाने ।

काँग्रेस पार्टीको कार्यकर्तामै अलि धेरै अराजकता, आक्रोश छ । गुट उपगुट पनि जागरण अभियानमै छर्लङ्ग देखिन्छ नि !

मैले कास्कीमा चाहीँ त्यो देखिन । अन्त पनि खासै छैन । ९० जना आसन ग्रहण गर्दा पनि नपुगेर रिसाउने पार्टी यही काँग्रेस हो । २ सय जनाले बोल्दा पनि नपुगेर रिसाउने यही काँग्रेस हो । यस्तो लामो अभ्यासबाट आएका छौं, त्यो अभ्यासलाई चिरेर ४ जना बक्ता बनाउँदा असन्तुष्टी स्वभाविक आउँछ । मलाई त लाग्या थ्यो, ठूलै भाडभैलो होला भन्ने । तर त्यस्तो भएन । हामीले पहल नगरेको रहेछौं भन्ने लाग्यो । नेतृत्वले पहल गर्दा कार्यकर्ता त अनुशासित रुपमा स्विकार गरे । एकाध ठाउँमा त्यस्तो भयो । तर यो स्वभाविक हो । विस्तारै मिल्दै जान्छ । कास्कीमा त सहज रुपमा स्विकार गरेको पाएँ ।

जागरण अभियानमा होमिदा र त्यो भन्दा पहिले कार्यकर्ताको प्रतिक्रिया चाहीँ के छ ? के भन्छन् उनीहरु ?

धेरै फरक छ, पहिले र अहिलेमा । त्यतिबेला अलि अराजक थियो । अनुशासन कम थियो । कार्यक्रमले नै स्वतः अनुशासित भएको पाएँ । कार्यक्रम नयाँ ढंगले आएको छ, यसलाई स्विकार गर्नुपर्छ, हामी पनि अनुशासित हुनुपर्छ भन्ने कार्यकर्तामा सन्देश पुगिसकेको छ । नेताहरुलाई मात्रै गाली गर्ने होईन, नेताको कमजोरी देखाउँदै आँफू पनि अनुशासन भित्र रहनुपर्छ भन्ने भावना कार्यकर्तामा प्रबाह भएको छ । चुनावपछि कार्यक्रम भएको हुनाले सामान्य चिन्ता आक्रोश छ । तर मनोबैज्ञानिक रुपमा कार्यक्रमलाई चाहीँ स्विकार गरेका छन् । सुध्रिने हो भन्ने अनुभुत गरेका छन् ।

उत्साहित चाहीँ कत्तिको छन् कार्यकर्ताहरु ?

उत्साहित छन् । तर के हो भने केही कार्यकर्तामा चाहीँ विगतजस्तै त होला नि भन्ने आशंका छ । धेरैले कौतुहलता पूर्वक हेरेका छन् । आशा पनि छ । भयंकर धेरै उत्साह आयो त म भन्दिन तर आगामी चुनावको तयार बन्दैछ । सकारात्मक प्रतिक्रिया बढी छ ।

काँग्रेस प्रतिपक्षी भएर संसदमा छ । प्रतिपक्षीलाई सत्तापक्षले नटेरेजस्तो देखिन्छ नि सदनमा । किन हो काँग्रेसमा यति धेरै निरिहता देखिएको ?

निरिहता त छँदै छैन । काँग्रेसलाई एउटा सीमा छ । उसले संसदीय मर्यादा, संसदको नियमावली, मुलुकको संविधानलाई मानेर प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारी छ । अहिलेको सत्तापक्ष चाहीँ कस्तो भो भने, उसलाई केही पनि मान्नु नपर्ने । उ प्रतिपक्षी छ भन्ने नै स्विकार्दैन । अस्ति प्रधानमन्त्री ज्यूले संसदमा दिएको जवाफ सुन्नुभयो । मुलुकको संसदबाट चुनिएको प्रधानमन्त्रीले संसदमा आँफुले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्ने हो त ? यसले मुलुककै बेईजती भो ।

हामी प्रतिपक्षी कस्ता भयौं फेरि, कुर्ची नै फाल्ने, माईक नै फाल्ने गर्न नमिल्ने । संसदीय मर्यादाले हामीलाई बाँधेको छ । त्यो भएर अलि भूमिका कमजोर जस्तो लाग्या हो । तर हामीले मुद्धामा आधारिक कुराहरु उठाएका छौं । हामी कमजोर छैनौं ।

यति ठूला घटनाहरु भएको छ देशमा, त्यसको विरोध गरेका छौं भन्नुहुन्छ तपाईं । तर जनताले काँग्रेसलाई किन नपत्याएका ?

सरकारलाई संसद मार्फत तह लाउन खोजेको हो । यदि संसदबाट जिम्मेवार बन्न चाहेन भने, पेलेर जान खोज्छ भने, बाध्य भएर सडकमा आउनुपर्छ । र हामी देखाउँछौं फेरि । प्रतिपक्षीको भूमिका विगतमा पनि खेलेका छौं । संसदीय मर्यादाभित्रै रहेर सरकारलाई माफी माग्न लगाउछौं । डेढ बर्षपनि भएको छैन, चुनाव भएको । अहिले नै सडकमा गयौं भने सत्तामा जान हतारो गरेजस्तो हुन्छ । जनताले पत्याउनु हुन्न । त्यसैले धैर्य गरेका हौं । जनता भनिरहेका छन्, काँग्रेस किन आन्दोलन गर्न नझरेको । किन नबोलेको । किन प्रतिपक्षीको भूमीका कमजोर भयो ? यसको कारण के हो भने, यो सरकारले ज्यादति गर्यो । हत्या, हिंसा र बलात्कार घटना बढे । नागरिक अधिकार कुण्ठित गरेको छ । काँग्रेस के हेरेर बसेको छ भन्नु भएको छ । त्यसैले अव जनताले हामीलाई सडकमा बोलायो ।

कहिले आउँछ सडकमा चाहीँ ?

आउँछ छिटै । यो जागरण अभियान पनि एक प्रकारको तयारी हो । प्रतिपक्षी भनेको सरकारले गलत गर्दाखेरि सही बाटोमा हिडाउने हो । राम्रो काम गर्दा विरोध गर्ने होईन । तर सकारको केही पनि राम्रो काम भएन । यो सरकारको भिजन एकमात्रै छ, दुई तिहाईको बहुमत छ । यसको उपयोग गरेर सबै राज्य संयन्त्र कसरी कब्जा गर्ने भन्नेमा ध्यान छ । त्यसैले अव हामी जनताका बीचमा जानै पर्छ ।

सरकार हरेक कुरामा पेलेर अगाडी बढिरहेको छ । प्रमुख प्रतिपक्षी दल चाहीँ आन्तरिक खिचातानीमै ब्यस्त छ । आगामी चुनाव हेर्नुपर्दैन ?

केही पनि छैन म भन्दिन । ढाकछोप गर्ने पक्षमा पनि म छैन । मुद्धा एकातिर छ । अहिले हामीले प्रहार गर्नुपर्ने आफ्नालाई होईन विपक्षीलाई हो । मुलुकको समृद्धी त गयो गयो, तर मुलुकको संविधान पनि ध्वस्त हुने बेलामा, अधिकार कुण्ठित हुने बेलामा, यसको संरक्षणका निम्ती यो सरकारलाई आक्रमण गर्नुपर्नेमा अहिले पनि हामी एकअर्कालाई आक्रमण गरिरहेका छौं । तपाईंले भन्नुभएको सही हो । तरपनि अहिले काँग्रेसको सिंगो पंक्ति एकताबद्ध हुने कुरामा एकमत छ ।

तर कार्यक्रम चाहीँ किन त्यस्तो देखिँदैन त ?

छ नि, अहिले सभापति लगायत बरिष्ठ नेता, महामन्त्री लगायत नेता ज्यूहरुले बोल्नुभएको कुरा सुन्नुस् । हाम्रो पार्टीभित्रको आन्तरिक कुरामा केही मतभेदहरु कहिलेकाहीँ देखिन्छन् । त्यो पनि नदेखिँदा राम्रो हुन्थ्यो । तर यो सरकारले जुन ज्यादती गरेको छ, जुन बाटोबाट सरकार अघि बढिरहेको छ, यो बाटोबाट मुलुकलाई खतरा छ । मुलुकको लोकतन्त्र सदाका लागि समाप्त हुने, संविधान समाप्त गर्ने यो ढंगमा छ । अर्को साढे तीन बर्षमा यही ढंगको चुनाव पनि हुने कि नहुने भन्ने कुरामा हामी सजग छौं । प्रहार त्यता गर्नुपथ्र्यो । विस्तारै मिल्दैछ ।

साढे ३ बर्षपछि हुने चुनावका लागि काँग्रेसको तयारी जागरण अभियान मात्रै हो कि अरु पनि आउँछ ?

यो त नयाँ ढंगले कार्यक्रम सुरु गरेको हो । हिजोको जस्तो हिसावले पार्टी चल्दैन । यस्तो पार्टी सत्तामा आएको छ, अर्को पटक चुनाव हुने हो कि नहुने हो भन्ने शंका चल्न थालिसक्यो । संविधान रहने कि नरहने भन्ने अवस्था आईसक्यो । यो अवस्थामा हामीले आँफूलाई भित्रैबाट सुधारेर, माथीबाट सुधारेर नजाने हो भने मुलुकको लोकतन्त्र रहँदैन । त्यसैले पहिलो चरणको कार्यक्रम ल्याएका छौं । तर यो पर्याप्त छैन । एक महिनाको प्रयोग मात्रै गरेका हौं । यो सकेर गएपछि समिक्षा हुन्छ । त्यसपछि अर्को चरणका कार्यक्रम तय हुन्छन् ।

काँग्रेसको विभाग र भ्रातृ संगठनले अहिलेसम्म पनि किन पूर्णता पाईरहेको छैन ? केन्द्रिय समितिमा यस्ता कुरा उठ्दैनन् ?

सबै छलफल हुन्छ । आवश्यक छ । हुनुपर्ने पनि हो । ढिलो भएको छ । तर यो एउटा पार्टी हो । एउटा ब्यक्तिले गरेर नहुने । कतिपय कुराहरु सहमतिमै गर्नुपर्छ । नेताहरुबीचमा सबै पक्षको प्रतिनिधित्व होस् भनेर अलि लम्बिएको हो । तर अत्ति ढिलो भैसक्यो ।

नेतृत्वलाई सुझाव र कार्यकर्तालाई उत्साह कसरी दिनुहुन्छ ?

नेतृत्वले अव निशंकोच आत्मस्विकृति सहित सच्चिएर आएका छौं भनेर वहाँहरु आउनु जरुरी छ । र सम्बाद अलि टुटेको छ, केन्द्रका नेता र गाउँका कार्यकर्ता बीचमा । त्यो सम्बादलाई जीवन्त बनाउन जरुरी छ । राजनीतिक पार्टी भनेको जनताको मत र विश्वासका आधारमा मात्रै सत्तामा जान सक्छन् । कार्यकर्ताहरुले पनि एक पटक नेतृत्वलाई विश्वास गरिदिनुपर्छ । हामी सुध्रियौं भनेर आएका छौं । एक पटक परीक्षण गर्नुस् । किनभने काँग्रेस कमजोर हुँदा काँग्रेसले मात्रै दुख पाउँदैनन् । प्रजातन्त्रले पनि दुख पाउँदो रहेछ । आम नेपालीले दुख पाउँदा रहेछन् । मुलुकको संविधान, राष्ट्रियता संकटमा पर्दो रहेछ । मुलुकको बेईजती हुने रहेछ । त्यसैले यो जिम्मेवारी काँग्रेसको हो भनेर, हिजोका कमजोरी सुधार्ने अवसर दिनुपर्छ ।

जनताले अर्को कुनै पार्टी रोज्नुपर्ने अवस्था त आउँदैन नि अर्को चुनावमा ?

काँग्रेस सुध्रियो भने पर्दैन । यो सरकासँग आक्रोश भएको बेला सुध्रियौं भने सबैजना काँग्रेसमा आउनुहुन्छ । काँग्रेसको ढोकामा पसिसक्नु भएन भने अस्थिरताको कारक तत्व बन्न सक्छ । तेश्रो धार जन्मिन सक्छ । त्यसले काँग्रेस सुध्रियो भने तेश्रो धार पनि जन्मिँदैन र यो सरकार पनि रहँदैन ।