काँग्रेसमा महाधिवेशन कार्यतालिका तोक्ने जिम्मा पदाधिकारीलाई

काठमाण्डौं, साउन १८ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधानमा उल्लेखित अन्तरिम संरचना निर्माण गर्ने कार्य्विधि बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । शुक्रवार साँझ अबेरसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हालका र पूर्व पदाधिकारीहरूबीच सहमति गरेर २२ गतेसम्म निर्दे्शिका ल्याउने म्यान्डेट दिएको हो ।

’अब हुने २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारीहरूबाट अन्तरिम व्यवस्था र महाधिवेशनको कार्यतालिकाको विषयमा एउटा निर्दे्शिका आउँछ,’ बैठकमा उपस्थित केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, त्यसपछि त्यही अनुसार अन्तरिम संरचना बनाउने काम अघि बढ्ने निर्णय भएको छ ।’

शुक्रवार बसेको बैठकमा मङ्सिर मसान्तसम्म अन्तरिम व्यवस्था अनुसार पार्टीको पुनर्संरचना गर्ने सहमति भएको छ । ’१३ औं महाधिवेशनमा क्रियाशील सदस्यताहरूका लागि नवीकरणका लागि नरहरी आचार्यको संयोजकत्वमा रामकृष्ण यादव र रमेश लेखकको एउटा समिति बनेको थियो,’ यादवले भने, ’त्यो समितिले गरेका कामको अभिलेख हेरेर नयाँ सदस्यताका लागि पहल गर्ने सहमति भएको छ ।’

बैठकमा पूर्णबहादुर खड्काले पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपसभापति विजय गच्छदारले पार्टी समायोजन प्रक्रियामा भएका उपलब्धीहरूको बारेमा जानकारी गराएका थिए ।

शुक्रवारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु( बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त व्यक्त गरेका थिए । बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।