काँग्रेसमा नेपालीकाे आकर्षण बढ्ने गरि विधानमा सुझाव दिनुस्–महामन्त्री कोइराला

पोखरा, असोज ९ ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने गरी काँग्रेसको विधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलनका लागि आयोजित गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसलाई शिरमा राखेर विधानमाथी गम्भीरतापुर्वक सोचेर सुझाव दिन आग्रह गरे ।

‘विपि कोइरालाले आफ्नै हातले लेखेको विधान संशोधन गर्दैछौं । तसर्थ हामीले आफ्नो दिमागबाट नेपाली काँग्रेसलाई सर्वोपरि बनाएर यो विधान परिमार्जन गर्नुपर्छ, उनले भने–भोलिका दिनहरुमा नेपाली काँग्रेस झन् सक्षम, सुदृढ र आगामी चुनावमा सर्वश्रेष्ठ पार्टी बनेर जानुपर्छ । त्यसका लागि तपाईंहरुको सुझाव आओस् ।’

उनले काँग्रेस अहिले ऐतिहासिक समयमा भएकोले कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए । तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरता पुर्वक बहन गरेर आउँदो दिनमा काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने तपाईंहरुकै दायित्व हो, कोइराला भन्छन्–कलम लिनुस्, दिमागलाई चुस्त राख्नुस् र केके परिवर्तन गर्नुपर्छ त्यो परिवर्तन तपाईंहरुकै माध्यबाट केन्द्रमा जाओस् । महासमितिले त्यसलाई इन्डोर्स गर्छ ।’

अघिल्लो चुनावमा नेपाली काँग्रेसले दुर्दशा भोगेपनि अहिले काँग्रेसप्रति आकर्षण बढिरहेको उनले सुनाए । उनले संविधानसँग मेल खाने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।