काँग्रसको विधानमा जुटेन सहमति–महासमिति बैठकस्थल सार्ने तयारी
काँग्रेस, पुस ३ ।
काँग्रेस केन्द्रीय समितिमा विधानका केही प्रावधानमा सहमति जुट्न नसकेपछि महासमिति बैठक लम्बिने र स्थान नै परिवर्तन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महासमितिको बैठक सकिनुपर्ने समय पुस ३ गते अर्थात आज हो । तर यो मितिसम्म विधान मस्यौदा प्रतिवेदन नै बैठकमा पेश हुन सकेको छैन, जसका कारण बैठक लम्बिने भएको हो ।
काँग्रेसका अनुसार महासमिति बैठकका लागि रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस मङ्सिर २९ गतेदेखि पुस ३ गतेसम्मलाई मात्रै बुक गरिएको थियो । तर विधानमा सहमती नभएपछि बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा बैठक सार्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए ।
उनले भने, ‘नेताहरूले अहिलेसम्म विधानमा सहमति जुटाउन सकिराखेका छैनन् । विधानको ७० पेजभन्दा ठूलो पुस्तिका प्रेसमा पठाएर छापिएर आउँदा एकदुई दिन लाग्न सक्छ । विधानमा जति चाँडो सहमति हुन्छ, त्यही आधारमा महासमितिको बैठक कति लम्बिने भन्ने टुङ्गो लाग्छ ।’
नेता घिमिरेका अनुसार जसरी पनि विधानमा सहमति जुटाउनुपर्ने दबाब नेताहरूलाई बढेको छ । आज सहमति भए भोलिको बैठकमा विधान पेश हुने नेताहरूले बताएका छन् । घिमिरेले भने, ‘सहमति नजिक पुगेकोे बताइए पनि सहमतिका लागि ठोस आधार तय भएको पाइँदैन । सोमबार अबेरसम्म बैठक चलेको थियो । तर नेताहरू सहमति गर्न असफल हुनुभयो । अहिले पनि प्रमुख नेताहरू सिंहदरबारमा रहेको पार्टी संसदीय कार्यालयमा विधानमा सहमति जुटाउन छलफल गरिरहेका छन् ।’
पदाधिकारी संख्या र निर्वाचन पद्धतिमा विवाद
काँग्रेस नेताहरूका अनुसार काँग्रेसको विधानमा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचन पद्धति के अपनाउने भन्नेमा मुख्य विवाद छ । सभापति शेरबहादुर देउवा पक्षले सभापति बाहेक दुई–दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने र त्यसमध्ये एकएकजना निर्वा्चित हुने र एकएकजना मनोनित गर्ने प्रस्ताव गरेको छ । तर रामचन्द्र पौडेल समूहले पदाधिकारी सबै प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने अडान राखेका छन् । यसैमा कुरा नमिल्दा महासमिति बैठकमा विधान मस्यौदा नै पेश हुन सकेको छैन ।
कोषाध्यक्ष पनि निर्वाचनबाट ल्याउनुपर्ने प्रस्ताव पौडेल पक्षको छ भने देउवा पक्ष कोषाध्यक्ष र प्रवक्ता दुवै मनोनित हुनुपर्ने अडानमा छन् । देउवा पक्ष सभापतिले आफू अनकुलका व्यक्ति मनोनित गर्दा पार्टी सञ्चालमा सहज हुने तर्क गर्छन् ।
उनीहरू सबै पदाधिकारी निर्वा्चित भएर आएपछि सभापतिलाई असहयोग गरेको खण्डमा पार्टी सञ्चालनमा नै समस्या हुने दाबी गर्छन् । यता पौडेल पक्षका नेताहरू मनोनित पद्धतिले पार्टीमा चाकडीवाद हाबी हुने बताउँछन् ।
यता महासमिति सदस्यहरूले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफलमा नबस्ने अडान लिएका छन् । आजको बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा अन्य विषयमा छलफल गर्ने नदिने भन्दै अड्किएका थिए ।
यसमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले उनको माइक खोसेका थिए । माइक खोसेपछि केही महासमिति सदस्यहरूले प्रकाशशरण महतलाई धकेलेका थिए ।