कवाडीघर जस्तो पोखराको ट्राफिक कार्यालय, साढे ३ सय मोटरसाइकल बेवारिसे

पोखरा, मंसिर २६ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ८ बर्षअघि देखिका मोटरसाईकल थन्किएका छन् । करिब साढे ३ सय मोटरसाईकल र आधा दर्जन गाडीहरु अहिले ट्राफिक कार्यालय परिसरमा कवाडी जस्तै गरि थन्क्याईएको छ ।

विभिन्न समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिईएका मोटरसाईकल र गाडीहरु अहिलेसम्म धनीले लिन आएका छैनन् । कानुनअनुसार नचलाईएका मोटरसाईकल र गाडीलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र बताउँछन् ।

धेरैजसो मोटरसाईकल रिन्यु फेल भएका छन् । ‘५ बर्ष रिन्यु नगरेपछि पुनः नयाँ सरह दर्ता प्रक्रिया सुरु हुन्छ । अलि बढी झण्झटिलो र मोटरसाईकलहरु पूराना भएकोले धनी लिनै आउँदैनन्, उनले भने–अधिकांश मोटरसाईकलका धनीहरु अहिले विदेशमा छन् । जिम्मा लगाउने मान्छे पाएनौं ।’ यसबाहेक चोरीका मोटरसाईकलहरु पनि रहेका मिश्रले बताए ।नियन्त्रणमा लिएको लामो समय भैसक्दा पनि धनी लिन नआएपछि अधिकांश मोटरसाईकल र गाडीहरु कवाडी जस्तै भैसकेका छन् । कानुनी जटिलताका कारण लिलामी गर्न पनि समस्या भएको मिश्रले सुनाए । ‘लिलामी गरेर बेचेपनि हुने हो । तर कानुनी प्रक्रिया निकै लामो छ । पहिले बुटवलले यो क्षेत्र हेर्ने गथ्र्यो, उनी भन्छन्–अहिले पोखरामै अधिकार त सरेको छ तर झण्झटका कारण लिलामी गर्न सकेका छैनौं ।’

नम्बर नखुलेका सवारीलाई भन्सार कार्यालयले लिलामी गर्ने ब्यवस्था छ । तर सबै मोटरसाईकलहरु नम्बर खुलेको भएकाले पनि थप समस्या परेको उनले बताए । ‘नम्बर भएपछि बेवारिसे भन्न मिल्दैन । नम्बर नखुलेको भए भन्सारको जिम्मा लगाउन हुन्थ्यो, मिश्रले अघि भने–भन्सारले नलगेपछि कतै जग्गा लिएर थन्क्याउने सोंच छ ।’ वडा नम्बर ८ ले कवाडी मोटरसाईकल थन्क्याउन जग्गा दिने आश्वासन दिएको मिश्रले बताए ।