कर्मचारी आन्दोलनलाई पोखराका काँग्रेसी वडाध्यक्षको समर्थन

पोखरा, पुस ५ ।
कर्मचारी समायोजन अध्यादेश विरुद्ध यतिबेला देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित छन् । सरकारले अध्यादेश मार्फत निजामति कर्मचारीको तह थप गरि समायोजन गर्ने तयारी गरेको छ । स्थानीय तहमा कार्यरत निजामति बाहेकका सबै कर्मचारीहरुलाई अध्यादेशले विभेद गरेको भन्दै तत्काल अध्यादेश संशोधन गरेर समान ब्यवहार देखाउन कर्मचारीहरुको माग छ । कर्मचारीहरुले सोमबारदेखि देशैभरी प्रदर्शन गरिरहेका छन् ।

कर्मचारीले गरेको आन्दोलनप्रति नेपाली काँग्रेसबाट बिजयी पोखरा महानगरका वडाध्यक्षहरुले पनि समर्थन गरेका छन् । विहिबार ११ जना वडाध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गरि कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

‘सरकारले ल्याएको अध्यादेशले निजामति बाहेकका कर्मचारीलाई मार पर्छ । सबै कर्मचारीहरु समान हुन् । सरकारले समान ब्यवहार देखाउनुपर्छ, विज्ञप्तीमा भनिएको छ–सरकारले ल्याएको विभेदकारी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारीको आन्दोलनमा हाम्रो पनि ऐक्यवद्धता छ ।’ नेपाली काँग्रेसतर्फका सचेतक रामराज लामिछानेले अध्यादेशमाथी असहमति जनाउँदै तत्काल अध्यादेश संशोधन गर्न आग्रह गरे ।

‘यसअघिकै अध्यादेशले स्थानीय तहका कर्मचारी भन्दा एक तह माथी र अन्य सुविधाहरु पनि बढी छ, उनले भने–अहिलेको अध्यादेशले झन् स्थानीय तहका अन्य कर्मचारी भन्दा निजामति कर्मचारीहरुलाई दुई तह माथी राखेर विभेदकारी ब्यवस्था ल्याउन लागेको छ । यसप्रति हाम्रो असहमति छ ।’

वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोला पनि सरकारले कर्मचारीमाथी विभेद गर्न नहुने बताउँछन् । ‘कर्मचारीको सहयोग विना राज्यले आफ्नो लक्ष्य कसरी पूरा गर्न सक्छ ? कर्मचारी बीचमै विभेद गरेपछि सहज रुपमा काम गर्ने वातावरण नै हुँदैन, उनी भन्छन्–स्थानीय तहका कर्मचारीलाई पनि सँगसँगै सम्बोधन गरिनुपर्छ । निजामति मात्रै देशका कर्मचारी होईनन् । स्थानीय तहका पनि सरकारकै कर्मचारी हुन् ।’