कति महंगो पोखरा–साढे दुई करोडको जग्गामा १० वटा गाडी पार्किङ !

पोखरा, कार्तिक १४ ।
पोखरा महानगरपालिकाले सडक चक्ल्याउन भन्दै केही महिनाअघि पालिखेचोकका घर हटायो । झण्डै तीन करोड रुपैयाँ मुआब्जा बुझाएर महानगरले ४ वटा घर भत्काएको थियो । घर हटाईएपछि चोक फराकीलो हुने विश्वास सबैको थियो ।

तर घर हटाईएको जग्गामा पहूँचवालाले गाडी पार्किङ गर्न थाले । मुआब्जा दिएको तीन महिना भैसक्दा पनि डिजाईन र सडक चक्ल्याउने काम सुरु हुन सकेको छैन ।

तत्कालै चोक चक्ल्याउने काम थाल्न माग गर्दै स्थानीयहरु वडामा डेलिगेसन गएका छन् । स्थानीय क्लवको अगुवाईमा गएको टोलिले तत्काल काम थाल्न आग्रह गरेको छ ।

डेलिगेसन टोलिलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडाध्यक्ष तथा समितिका संयोजक शंकर बास्तोलाले आउँदो महिनाबाट काम थाल्ने बताए । ‘प्राविधिकलाई डिजाईनको लागि खटाईएको छ । इन्जिनियरको डिजाईन आएपछि निर्माणको काम थाल्ने हो, उनले भने–अव त्यहाँ पार्किङ हुँदैन । प्रविधिमैत्री चोक बन्छ ।’

स्थानीयहरुले त्यस ठाउँलाई पालिखेचोक नभई साँघुको चोक नाम स्थापीत गर्न पनि माग गरेका छन् । ‘साँघुको मुख त्यहाँको इतिहास हो । पालिखेचोक भनेको धेरै भएको छैन, उनीहरु भन्छन्–पालिखेचोक छोडेर साँघुको मुख स्थापित हुनुपर्छ ।’