ओली–प्रचण्डबीच ‘गोप्य’ छलफल, मन्त्री फेर्ने तयारी

काठमाण्डौं, फागुन ७ ।
नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो ।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना सुरु भएको छ । सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला नेकपाभित्र भने मन्त्री फेर्ने गृहकार्य अगाडि बढेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए । आजको नेपाल समाचारपत्र दैनिकले पहिलो पृष्ठमा यो खबर छापेको छ ।