एसएसओएस विद्यालयका भूतपूर्व विद्यार्थीहरु एकजुट

पोखरा, जेठ ८ ।

पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर विदालयका भूतपूर्व विद्यार्थीहरु एकजुट भएका छन् । भूतपूर्व विद्यार्थीहरुबीच एकता कायम गर्न भू.पू. विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी स्थापना गरेर मंगलबार एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरेको हो ।

औपचारिक घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एसओएस बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठले संस्था चलाउँदा थुप्रै चुनौतीहरु आउने भएकोले त्यसलाई समाधान गर्न सबै विद्यार्थी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । भूपू विद्यार्थी डा. रविमोहन ढकालले संस्थाले सबैलाई समेट्ने खालको कार्यक्रम गर्न सुझाव दिए । विद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले भू.पू. विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी नमुना संस्था बन्ने अपेक्षा गरे । एसओएस यूथ फ्यासिलिटी गण्डकीका डाईरेक्टर प्रदिपभक्त आचार्यले संस्था स्थापना गर्नु ठूलो विषय नभएर संस्थालाई निरन्तरता दिनु चुनौतिको विषय भएकोले त्यसलाई विद्यार्थीहरुले चिर्न सक्नुपर्ने बताए ।

सोही अवसरमा बोल्दै समितिका अध्यक्ष विकास श्रेष्ठले विद्यालयका विद्यार्थीहरु देशमा मात्र नभएर विदेशमा पनि छरिएर रहेकाले उनीहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले समिति गठन गरेको बताए । यस विद्यालयको विद्यार्थी भन्न पाउँदा गौरभान्वित महशुस हुने बताउँदै उनले विदालयलाई निरन्तर सहयोग गर्ने घोषणा गरे ।

विद्यार्थीहरुले विकास श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना पराजुली, सचिवमा अमृतकुमार पौडेल, कोषाध्यक्षमा अञ्जु गुरुङ, सदस्यहरुमा राजु लामा, कुमार गुरुङ, सम्झना लम्साल, एलिसा शर्मा, शङ्कर श्रेष्ठ, रहेका छन् । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सम्झना पराजुली र सञ्चालन सचिव अमृतकुमार पौडेलले गरेका थिए ।

एसओएस हरमन माइनर विद्यालयले अभिभावक गुमाए विभिन्न ठाउँका विपन्न बालबालिकाको अभिभावक बनेर उनीहरुलाई उपयुक्त वातावरणमा हुर्काउनुका साथै गास, वास, कपास, शिक्षा र संरक्षण दिदैँ आएको छ । पोखरा लेखनाथ महागरपालिकाको उत्कृष्ट विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल विद्यालयले समाज धेरै बालबालिकालाई शिक्षा आर्जन गर्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । हाल एसओएस बालग्राममा १ सय ४७ जना बालबालिका रहेका छन् भने १ सय २० जनालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको छ ।