एमालेको समर्थनमा माओवादी नेता सभामुख

प्रकाश ढकाल
पोखरा, फागुन ४ ।
माओवादी नेता नेत्रनाथ अधिकारी नयाँ संरचना अनुसार प्रदेश नम्बर ४ को पहिलो सभामुखमा निर्वाचित भएका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र एमाले सांसद किरण गुरुङको समर्थनमा प्रदेशसभाको दोश्रो बैठकले उनलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । बुधबार अधिकारीले मात्रै सभामुखमा मनोनयन दर्ता गराएका थिए । जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ उपदफा ३ बमोजिम उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । कार्यविधिमा सभामुखको निर्वाचनका लागि तोकिएको समयमा दिईएको प्रश्तावक र समर्थक सहितको सूचनामा एउटै मात्र सूचना प्राप्त भए प्रश्तावकले बोलिसकेपछि बैठकको अध्यक्षले प्रश्तावित सदस्यलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्ने प्रावधान छ । गठबन्धनसँग स्पष्ट बहुमत भएपछि काँग्रेसले प्रदेशका कुनै पनि पदमा दावी गरेको छैन । माओवादीको १२ र एमालेको २७ सांसदले उनलाई सभामुखका लागि समर्थन गरेका थिए । प्रश्ताव पेश गर्दै माओबादी सांसद हरिबहादुर चुमानले संघीयताको ब्यवहारिक कार्यान्वयन र चुनौतिको सामना गर्न नेत्रनाथ अधिकारी सक्षम ब्यक्ति भएको उल्लेख गरे । उनले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने हालको परिस्थितीमा सक्षम सभामुखको खाँचो भएको भन्दै अधिकारीलाई वाम गठबन्धनको समर्थनबाट अघि सारिएको बताए ।
‘जनतालाई अधिकारसम्पन्न भएको ब्यवहारिक महसुस गराउनु अहिलेको चुनौति हो । सामन्तवाद र एकात्मकताको धङधङी समाजमा अझै बाँकी छ, उनी भन्छन्–यो संघीयता त्यसैका लागि हो । स्थीरता, सुशासन र समृद्धीका लागि हामीलाई मतादेश प्राप्त भएको छ । यो मतादेशलाई सम्बोधन गर्नु जरुरी छ ।’ उनले सभालाई प्रभावकारी, गतिशिल र ओझपूर्ण बनाउन अधिकारीको विकल्प नभएको बताए । उनको प्रश्तावलाई समर्थन गर्दै एमाले नेता तथा सांसद किरण गुरुङले एमाले र माओबादी बीचको सहमति कार्यान्वयन चलिरहेको बताए । ‘चुनावका बेला पार्टी एकीकरणको समेत सपना देखेर माओबादी र एमालेबीचमा सहकार्य चलिरहेको छ । अहिले सहमति कार्यान्वयनको चरणमा पुगेका छौं, उनले भने–एमालेले प्रदेश ४ मा सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउन समर्थन गरेको छ । म त्यसको समर्थनमा उभिएको छु ।’ उनले साझा एजेण्डा तय गरेर संविधान र संघीयताको कार्यान्वयनमा जुट्ने प्रतिबद्धता पनि जनाए ।
सभामुखमा निर्वाचित भएपछि उनले साझा पदमा पुगेकाले कुशलतापुर्वक जिम्मेवारी पूरा गर्ने प्रतिक्रिया दिए । अधिकारीले विहिबार नै माओबादी केन्द्र र दलगत अन्य सबै पदबाट राजीनामा दिएको सार्वजनिक घोषणा गरेका छन् । यद्यपी लिखित रुपमा शुक्रबार मात्रै राजीनामा पत्र बुझाउने उनी निकट श्रोतले जनाएको छ । ‘सभामुख संसदको साझा पद हो भन्ने मैले बुझेको छु । त्यसैले मेरो पार्टीसँगको आवद्धता आजकै मितिदेखि ५ बर्षका लागि सकिएको छ, उनले भने–अव संसदीय बिजनेसलाई सही टुंगोमा पु¥याउने र अधिकतम सहमति जुटाउने प्रयासमा लाग्नेछु । पक्ष र प्रतिपक्षको भूमिका देखाउँदिन ।’ विहिबार निर्वाचित सभामुखको शपथ शुक्रबार विहान मुख्यमन्त्रीसँगै हुनेछ । प्रदेश प्रमुखको निवासमा विहान १० बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । सभामुखमा निर्वाचित माओवादी नेता नेत्रनाथ अधिकारी पर्वत प्रदेशसभा (क) बाट सांसदमा निर्वाचित भएका हुन् । यसैबीच, विहिबारको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचन गर्ने मिति तय गरेको छ । बैठकको अध्यक्षता नव निर्वाचित सभामुखले गर्नेछन् । बैठकमा प्रदेशप्रमुखबाट प्राप्त भएको मुख्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाईएको थियो भने जेष्ठ सदस्यले प्रदेशसभा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएर विदा भएका छन् ।
भगबण्डामा उपसभामुख पाएको एमालेले महिला चयन गर्नुपर्नेछ । संबैधानिक ब्यवस्था अनुसार नै सभामुख पुरुष भए उपसभामुख स्वतः महिला हुनुपर्नेछ । उपसभामुखका लागि एमालेबाट २ जनाले बढी लविङ गरिरहेका छन् । समानुपातिक सांसद सिर्जना शर्मा र म्याग्दीकी निर्वाचित सांसद नरदेवी पुनमध्ये १ जनालाई उपसभामुखको उम्मेदवार बनाउने एमाले श्रोतले जनाएको छ । दुईमध्ये १ जना उपसभामुख र अर्कोलाई मन्त्री बनाउने बिषयमा छलफल भैरहेको श्रोत बताउँछ । यद्यपी अर्की समानुपातिक सांसद मित्रकुमारी गुरुङ सुवेदी पनि उपसभामुखको लविङ गरिरहेकी छिन् ।