एक हप्तामै भरियो पोखराको फेवातालमा टनका टन फोहोर

पोखरा, बैशाख १५ ।
फिर्के र बुलौंदी खोलाबाट बगेर जाने फोहोर सिधै फेवातालमा पुगेपछि त्यसको रोकथामका लागि अघिल्लो साता तालको मुखैमा चेकड्याम बनाईयो । बृहत सफाई अभियानका अभियान्ताहरुको निरन्तर दवावपछि पोखरा महानगरले फिर्के र बुलौंदी तालमा मिसिनु अघि नै ड्याम तयार गरेको हो ।

ड्याम बनेको साता दिनभित्रै फोहोरको डंगुरले ड्याम भरियो । फेवाताल प्रदुषणको मुख्य मुहान फिर्के र बुलौंदी खोला हो भने ताल किनारका होटल तथा रेष्टुरेण्टहरु पनि उत्तिकै दोषी छन् । तालमा सीधै फोहोर थुप्रिने र पानी प्रदुषित भएपछि त्यसको रोकथामका लागि मेटल र जालीले ड्याम बनाईएको हो ।

पोखराले फेवातालमा फोहोर जानबाट रोक्नका लागि चेकर सिल्ड ड्याम बनाउन लागेको छ । यसका लागि तयारी समेत सुरु भैसकेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । यस्तै, खोलामा फोहोर फाल्नेलाई तत्काल कारबाही गर्ने उनको भनाई छ ।

पोखरा सफा बनाउन नागरिक अगुवाले सफाई अभियान थालेको १ सय ५२ हप्ता पूरा भएको छ । यो अवधीमा पोखरा धेरै सफा भैसकेको भन्दै संयोजक रामबहादुर पौडेलले फोहोरको मुहान बन्द गर्न सरकारी निकाय लाग्नुपर्ने बताए । ‘हामी सफा गर्छौं फेरि उस्तै हुन्छ । नागरिकमा सचेतना हुनुपर्छ कि मैले फोहोर गर्नुहुँदैन भनेर, उनले भने–महानगरले यसतर्फ बिशेष जोड दिनुपर्छ । फोहोरको मुहान थुन्ने अभियान सुरु हुनुपर्छ ।’ ड्याममा जम्मा भएकाे फाेहाेर पनि शनिबार झिकिएकाे छ ।