एउटै मञ्चमा ४ पत्रकार सम्मानित
पोखरा, चैत १७ ।
नेपाल पत्रकार महासंघ कास्कीले ४ जना पत्रकारलाई एकै मञ्चबाट सम्मान गरेको छ । स्थापनाको ६३ औं बार्षिकोत्सवको अवसरमा कास्की महासंघले विभिन्न पुरस्कारबाट पत्रकारलाई सम्मान गरेको हो । मोफसलकै सर्वाधिक राशी भएको कृति स्मृति पत्रकारिता बृत्ति सम्मानबाट प्रेस स्वतन्त्रता सेनानी बद्रीबिनोद प्रतिक सम्मानित भएका छन् । १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशी भएको यो सम्मान दोश्रो पटक अर्पण गरिएको हो । यस्तै पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्सायन) सम्मानित भए । नगद ३५ हजार १ रुपैयाँ सहित दोसल्ला र ताम्रापत्रले उनलाई सम्मान गरिएको हो । पोखरा पत्रकारिता संस्थागत सम्मान चाहीँ यसबर्ष पोखरा लेखनाथ महानगरपालिका कार्यालयलाई प्रदान गरिएको छ ।
जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ बाट रुद्र श्रीसमगर र २०७४ बाट रञ्जन अधिकारी पुरस्कृत भएका छन् । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आर्थिक समृद्धिका लागि आलोचनात्मक सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । चुड्कीको भरमा विकास नभै विधि र प्रक्रिया अनुसार नै विकास हुने भन्दै उनले त्यसको थालनी सुरु भैसकेको उल्लेख गरे । उनले प्रदेशको अधिकारलाई केन्द्रले हस्तक्षेप गर्न नमिल्ने बताए ।
प्रतिनिधीसभाका सांसद सूर्यबहादुर केसीले देशमा जातिय द्धन्द्ध भड्काउने कसरत भएको भन्दै सचेत रहन सबैलाई आग्रह गरे । जातियताको नाममा नेपालीलाई जुधाउने गरी ईयुले गलत अफवाह फैलाएको उनको आरोप छ । कार्यक्रममा सम्मानित ब्यक्तिहरु सहित बरिष्ठ पत्रकार युवराज घिमिरे, पूर्वअध्यक्ष रवीन्द्र बास्तोला, प्रतिभा छनौट समितिका संयोजक पुण्य पौडेल, नेपाली काँग्रेसका सभापति कृष्ण केसी लगायतले बोलेका थिए । कार्यक्रमकै अवसरमा महासघंलाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मानपत्रले सम्मान समेत गरिएको छ । महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न गर्न सहयोग गरेको भन्दै विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र ईन्जिनियर महेन्द्रवहादुर गोदारलाई सम्मान गरिएको हो ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए भने स्वागत उपाध्यक्ष विमला भण्डारीले गरेकी थिईन् ।