उपनिर्वाचनका लागि दल दर्ता निर्वाचन आयोगको आह्वान

 

काठमाडौं, भदौ १७ ।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।

आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि यही भदौ मसान्तसम्मको समय दिएको छ ।

यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको छ ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचनपूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागिमात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।

निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेकाले उपनिर्वाचनका लागि यो दल पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ ।

त्यस्तै, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीले पनि उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।

यसअघि, ०७४ मा तीन तहमा निर्वाचन भएको थियो । तर, विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् ।

जनप्रतिनिधिविहीन बनेका स्थानमा उपनिर्वाचनमार्फत् पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।
(ईमेजखबरबाट साभार)