उत्कृष्ट टान पत्रकारीता अवार्डबाट पत्रकार बराल सम्मानित

पोखरा, असोज २९ ।
पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बुधबार बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरे ।
अन्नपुर्णपोष्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तव्यको समाचार सम्पे्रषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट पथप्रदशक सुनीता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेका प्रमुख नापी अधिकृत खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नयाँ पदमार्गको खोजी गर्नु पर्ने बताए । साथै उनले हिमाली क्षेत्र तर्फ मात्रै नभई दक्षिण तर्फसमेत सांस्कृतीक पदमार्गको विकास गर्नु पर्ने जोड दिएका थिए ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुबेदीले धौलागीरि हिमाल क्षेत्रका पदमार्ग जोखिम पुर्ण भएको बताउँदै त्यस क्षेत्रमा जाँदा पथप्रर्दशक अनिवार्य लैजानु पर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेल, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष गमबहादुर पुन, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका पुर्व अध्यक्ष बसन्त दवाडी, अध्यक्ष हरि भुजेल, उपाध्यक्ष सुशिल पौडेल, सचिब जिवन सापकोटालगाएतले नेपालमा ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउने भए पनि पदमार्ग मासिंदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुले राज्यले सडक लगेपनि पदमार्गका लागि बैकल्पीक मार्गको समेत खोजी गर्नु पर्ने बताए ।